ढुङ्गाखानी बन्द हुँदा तीन सय जना स्थानीयको रोजगार गुम्यो !
दोलखा । बैतेश्वर गाउँपालिका वडा नम्बर–३ मिर्गेमा रहेको चक्लेटा उत्पादन हुने ढुङ्गा खानी बन्द हुँदा यहाँका करिब तीन सय जनाको रोजगारी गुमेको छ । गत जेठदेखि उक्त खानी बन्द भएपछि यहाँका स्थानीयको रोजगारी गुमेको हो । वर्षौँदेखी उत्खनन गर्दै आएको चक्लेटा मार्बल खानी बन्द भएपछि ढुङ्गा निकालेर गुजारा गर्दै आएका स्थानीयको आम्दानी स्रोत बन्द भएको स्थानीय दल बहादुर तामाङले बताए ।
यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सानुखोलको चक्लेटा खानी दर्ताविना सञ्चालनमा रहेकोे भन्दै खानी तथा भू–गर्भ विभागमा उजुरी परेपछि प्रहरीले खानी बन्द गर्न लगाएको थियोे । सानुखोला र दोभाने बेँसीको सिमाना रहेको उक्त खानीबाट खानीका जग्गाधनीहरूले विगत छ दशकदेखि ढुङ्गा निकाल्दै आएका थिए । उनीहरूले निकालेका ढुङ्गा ढुङ्गामाटोले बनेका घरको छानो छाउने प्रयोग हुँदै आएको थियो ।
२०७२ वैशाख १२ गतेको भूकम्पपछि करिब दुई वर्ष बन्द भएको खानीलाई पछि फेरि यहाँका खानीधनीहरूले नयाँ प्रविधिको प्रयोग गरेर सञ्चालनमा ल्याएका थिए । बैतेश्वर गाउँपालिका–२ र ३ का करिब तीन सय जनाले नियमित रोजगार दिइरहेको खानीलाई राजनीतिक स्वार्थले बन्द गराइएको स्थानीय सुकुमान तामाङले बताए । खानी बन्द गराउँदा यहाँका तीन सय जनाभन्दा बढी स्थानीयको रोजगार खोसिएको तामाङको भनाइ छ । दिनभर ढुङ्गा कुँदेर बेलुकाको गुजारा गर्ने स्थानीयलाई अहिले खानी बन्द हुँदा घरखर्च तथा परिवारको गुजारा चलाउन मुस्किल परेको तामाङले बताए । खानी बन्द हुँदा स्थानीयको रोजगार मात्रै नभई वडा नम्बर–३ को आन्तरिक आम्दानी समेत घटेको छ । खानी सञ्चालनमा रहँदा वडामा करिब ११ लाख रूपैयाँ राजस्व जम्मा हुन्थ्यो तर अहिले उक्त खानी बन्द हुँदा वडाको आन्तरिक आम्दानी घटेको वडा अध्यक्ष कमल अधिकारीले बताए ।
मिर्गेको मात्रै नभई जल्लाका अन्य क्षेत्रमा रहेका यस्तै किसिमका अन्य खानी पनि धमाधम बन्द हुँदै गएका छन् । जिल्लाको विगु गाउँपालिका आलम्पुमा रहेको स्लेट खानी पनि बन्द गर्न गौरीशंकर संरक्षण क्षेत्रले निर्देशन दिएको छ । स्लेट खानीको ढुङ्गा निकालेर घर छाउन मिल्ने बनाएर बेच्ने र त्यसैको आम्दानीले परिवार पाल्ने गर्दै आएका आलम्पुका स्थानीय खानी बन्द हुने भएपछि चिन्तित बनेका छन् । विगु–७ आलम्पुका ७ सय ४९ घरधुरीमा दुई सय थामी परिवारले स्लेट निकाल्ने ठाँउ छुट्टाएर सोहीअनुसार बिक्रीवितरणको लागि स्लेटलाई आकार दिँदै आएका छन् । उनीहरूले स्लेट निकालेपछि जिल्लाका विभिन्न ठाउँबाट आवश्यकताअनुसारको स्लेट खरिद गर्न मानिसहरू गाँउमै पुग्ने गरेका छन् ।
खानीबाट दैनिक २५/३० फिट स्लेट निकालेर उनीहरूले घरमा छाउन मिल्ने बनाई प्रतिफिट ३५ रूपैयाँसम्ममा बेच्ने गरेका छन् । थामी समुदाय लामो समयदेखि यो काम गर्दै आएका छन् । संरक्षण क्षेत्रले खानी दर्ता गरेर चलाउन निर्देशन दिएपछि कम्पनी सञ्चालन गर्न आफूहरूको आर्थिक हैसियत नपुग्ने भन्दै यहाँका स्थानीय चिन्तित देखिएका छन् । आलम्पु गाग्रोफुटेको स्लेट खानीबाट २०१३ सालदेखि थामी समुदायका मानिसले स्लेट निकालेर घर छाउन थालेको थिए । २०१७ सालदेखि यसैलाई आर्थिक उपार्जनको स्रोत बनाएको स्थानीयले बताउँदै आएका छन् । यता मिर्गेको बन्द दोभान खानी भने कानुनीरूपमा दर्ता भई सञ्चालनमा आउने भएको छ । दाजुभाइ स्टोन कटिङ एन्ड सप्लायर्स प्रालिले बन्द भएको खानी सञ्चालनमा ल्याउन खानी तथा भू–गर्भ विभागबाटै मान्यता पाएको छ । दर्ता गरी खानी सञ्चालनको मान्यता पाएको कम्पनीले छिट्टै खानी सञ्चालनमा ल्याउने तयारी थालेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
- पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
- कांग्रेस नेता अफताब आलमलाई जन्मकैदको सजाय
- मुख्यमन्त्री कँडेललाई विश्वासको मत
- आगलागीबाट ७९ घर जले, एकको मृत्यु
- उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान
- डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा डंगोल नियुक्त
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया