Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपर्यटनलाई चलायमान बनाउन ‘जाउँ है पोखरा’ अभियान

पर्यटनलाई चलायमान बनाउन ‘जाउँ है पोखरा’ अभियान


पोखरा । होटेल सङ्घ पोखरा आन्तरिक पर्यटन प्रवद्र्धनलाई लक्षित गरी पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान फेरि सुरु गरेको छ । कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुन:चलायमान बनाउने उद्देश्यका साथ अभियान सुरु गरिएको हो ।

अभियान अन्तर्गत आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने संघले जनाएको छ । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने पर्यटन व्यवसायीको विश्वास छ । अभियानअन्तर्गत भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरमा त्यहाँका पर्यटनसम्बद्ध पदाधिकारी, पर्यटन व्यवसायीसँग छलफल एवं गरिने संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाटसमेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमको छ । आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशक अघि सञ्चालित अभियानले भैरहवाका अतिरिक्त नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पनि समेटेको संघका उपाध्यक्ष दीपक श्रेष्ठले बताए ।

पोखराका एक हजार दुई सय होटलमा ४० हजार वेड रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघका महासचिव राजेन्द्र ढकालले बताए ।

गण्डकी घुम्नेलाई पाँच प्याकेज

यसैबीच, शनिबार भैरहवामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेश घुमघाम गर्नका लागि पाँच वटा पर्यटकीय प्याकेजसमेत सार्वजनिक गरिएको छ । प्याकेजमा घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा छन् । होटलमा बस्ने, खाने र घुम्ने सम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्य बीचका छन् ।

अभियानमा सहभागी पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको र आफूहरुको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिए ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराएकी थिइन् । नाट्टा गण्डकीका अध्यक्ष रचना पन्तले पोखराको पर्यटन प्रवद्र्धनका लागि सबैले सघाउनुपर्नेमा जोड दिइन् ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरुपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको भन्दै नियमित अन्तर्राष्ट्रिय उडानका लागि आफूहरु दबाबमूलक आन्दोलनमा लागेको जानकारी दिए ।

पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले पर्यटनलाई अब फरक र एकीकृत ढंगले अगाडि बढाउनुपर्ने खाँचो औंल्याए ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया