Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपर्यटकीय  गन्तव्यको ब्राण्डिङ्ग गर्दै लुम्बिनीका पालिकाहरु

पर्यटकीय  गन्तव्यको ब्राण्डिङ्ग गर्दै लुम्बिनीका पालिकाहरु


काठमाडौं । लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएका छन् । पालिकाहरुको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरुले पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने विभिन्न पालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा उद्योग, पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय–लुम्बिनी प्रदेशको समन्वयमा लुम्बिनी प्रदेशको राजधानी भालुबाङमा पर्यटन रणनीति र कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न भएसंगै पालिकाहरु सो अभियानमा जुट्ने भएका हुन् ।

लुम्बिनी प्रदेशका २१ वटा स्थानीय सरकार (नगरपालिका/गाउँपालिका) अन्तर्गत जनप्रतिनिधि तथा पर्यटन शाखा/योजना शाखासँग सम्बन्धित कर्मचारीहरुको क्षमता वृद्धि गराई स्थानीय सरकारको पर्यटन रणनीति र कार्ययोजना तर्जुमा गर्न सहयोग पुराउने उद्देश्यले भालुुबाङ्गमा कार्यशाला आयोजना गरिएको हो ।

कार्यशालामा पालिकाहरुको पर्यटन नीति, रणनीति तथा कार्ययोजना निर्माण, पर्यटकीय गन्तव्यहरूको ब्रान्डिङ, बजारीकरण तथा पर्यटन प्रवद्र्धनका लागि आमसञ्चार माध्यमहरुसंगको सहकार्यलगायतका विषय वस्तुमा छलफल गरिएको थियो । यस्तै, कार्यशालामा पर्यटनको प्रडक्ट निर्माण तथा बजारीकरणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि, उनीहरूलाई आवश्यक पर्ने ज्ञान र सीपहरू विकास गर्न तथा स्थानीयतहमा प्रभावकारी पर्यटन रणनीति र कार्ययोजना निर्माण तथा कार्यान्वयनका विषयमा छलफल गरिएको थियो ।

कार्यशालामा लुम्बिनी प्रदेश अन्तरगत रहेका लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह, कोटहीमाई, रामग्राम, घोराही, लमही, तुलसीपुर, राप्ती, दाङ्ग, बैजनाथ र ठाकुरद्धारा, पुथाउत्तरगंगा, सिंस्ने, रुन्टिगढि, बढैयाताल, स्वर्गद्धारी ,झिम्रुक, राजापुर, तिनाउ, रेसुङ्गा, र छत्रदेव नगरपालिका/गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।

कार्यशालामा नेपाल सरकारका पूर्व सहसचिव तथा सहजकर्ता रमेश कुमार अधिकारीले कार्यशालाबाट हरेक पालिकाले आआफ्नो पालिकाको पर्यटन रणनीति तथा कार्ययोजना निर्माणमा सहयोग पुगेको बताए । नेपाल पर्यटन बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनालले पर्यटन प्रवद्र्धन, ब्रान्डिङका विषयमा प्रस्तुतिकरण दिदैँ आफ्नो स्थानीयतहमा भएका पर्यटकीय गन्तव्यको ब्रान्डिङ गर्दै यसको बजारीकरण गर्नु पर्ने बताए ।

नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट तथा उपप्राध्यापक टि.पि. भुसालले पर्यटन प्रवद्र्धन धनमा आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख्य गर्दै पर्यटनमा सञ्चारको भूमिका, सामाजिक सञ्जालको प्रयोग र सञ्चार क्षेत्रसँगको सहकार्यलगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा पर्यटन विभागका अधिकृत प्रयास भट्टराइले विभागले चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशका विभिन्न पालिकामा भइरहको कार्यबारे जानकारी दिँदै पूर्वाधार विकासमा पालिकाहरुसंग भएको सहकार्यबारे प्रकास पारेका थिए । त्यस्तै, उद्योग पर्यटन तथा यातायात व्यवस्थापन मन्त्रालय लुम्बिनीका अधिकृत गणेश घिमिरेले प्रदेश पर्यटन मन्त्रालयको पर्यटन योजनालगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यशालामा शनिवार सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरुले आ–आफ्नो पालिकाको पर्यटन नीति, कार्ययोजना निर्माण तथा सञ्चार सहकार्यका विषयमा रणनीति तयार पार्ने तथा त्यसको कार्यान्वयनको खाका तयार पार्ने छन् । कार्यशालामा सहभागीहरुले कार्यशालाबाट आफूहरुले आ–आफ्नो पालिकामा रहेका पर्यटकीय सम्भावनाको कसरी बजारीकरण तथा प्रचारप्रसार गर्न सकिन्छ भन्ने कुराको ज्ञान प्राप्त भएको बताउँदै अब आफूहरुले पनि सोही अनुरुप पर्यटन रणनीति तयार पार्ने रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद अर्यालले बताए । परियोजनाले यसअघि कोशी, मधेस, सुदुपश्चिम र कर्णाली प्रदेशमा कार्यशाला सम्पन्न गरिसेकेको छ भने यसपछि गण्डकी र बाग्मतीमा कार्यशाला आयोजना गरिने परियोजनाले जानकारी दिएको छ ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया