Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपर्यटन उधोगपोखरामा २५औँ सडक महोत्सव सुरु

पोखरामा २५औँ सडक महोत्सव सुरु


पोखरा । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ २५औँ संस्करणको सडक महोत्सव आज(बिहीबार)देखि सुरु भएको छ । १६ गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

महोत्सवस्थल राष्ट्र बैंक चोकदेखि खहरेसम्म, बुलौँदीदेखि हलनचोकसम्म करिब तीन किमि क्षेत्रमा ध्वजापताकाले सिँगारिएको छ । महोत्सवमा मुख्य आकर्षकका रुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता रहने रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतिलगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको छ । पोखराको पर्यटन विकास, प्रवर्द्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टकशो कार्यक्रमसमेत हुनेछ ।

सडक महोत्सवमा शान्ति सुरक्षालाई ध्यान दिएर उपसमिति बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए । महोत्सवमा बालबालिकाका लागि चित्रकला र साहसिक खेलकुदको वृत्तचित्र प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिनेछ । महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहनेछन् । नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सृजना, समग्र आर्थिक विकास र समुन्नतिमा महोत्सवले टेवा पुर्याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको विश्वास छ ।

पोखराको पर्यटन प्रवर्द्धनमा सडक महोत्सवको भूमिका महत्वपूर्ण रहेकोले आगामी दिनमा परिस्कृत र परिमार्जित गर्दै नवितम सोँचका साथ अघि बढाउनुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख नवीन पोख्रेल बताउँछन् ।


क्याटेगोरी : पर्यटन उधोग

तपाईको प्रतिक्रिया