Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिराष्ट्रपतिमा ‘विकल्प दिन’ के एमाले तयार हुँदै हो ?

राष्ट्रपतिमा ‘विकल्प दिन’ के एमाले तयार हुँदै हो ?


काठमाडौं,राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने नेकपा माओवादी केन्द्रको अडानपछि सत्ता समीकरण फेरबदल हुने जोखिमले नेकपा एमालेमाथि दबाव बढ्दो छ।

राष्ट्रिय सहमतिको निम्ति एमाले तयार नभए सरकार सङ्कटमा पर्दा नेपाली कांग्रेसले सहयोग गर्ने वचन दिएकाले प्रधानमन्त्री प्रचण्ड भने केही हदसम्म ढुक्क रहेको बताइन्छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महत भन्छन्, “माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्दा एमालेले समर्थन फिर्ता लिएमा कांग्रेसको समर्थन कायम रहन्छ।”

गठबन्धन तोड्ने घोषित नीति लिएको कांग्रेसले त्यसो गर्ने कुरा अनौठो पनि देखिन्न।

त्यो बुझेको एमालेमाथि प्रधानमन्त्री प्रचण्डले भने निरन्तर दबाव बढाइरहेको बताइन्छ।

कार्ड खुल्ने प्रतीक्षा

‘राष्ट्रपति आफूलाई दिए पाँचै वर्ष सरकार चलाउन दिन एमाले तयार भइसकेको’ सन्देश प्रधानमन्त्रीले कांग्रेस नेताहरूसम्म पुर्‍याइसकेका छन्।

एमाले नेताहरूका बुझाइमा कांग्रेससँग मिल्ने डर देखाएर प्रधानमन्त्री आफ्नो पदावधि लम्ब्याउन चाहन्छन्।

उनीहरूका अनुसार प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कार्ड भने खोलिसकेका छैनन्।

ओली र प्रचण्ड

तस्बिर स्रोत,@CMPRACHANDA

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ भन्छन्, “राष्ट्रिय सहमति राष्ट्रिय सहमति भने पनि उहाँले त्यसको व्याख्या गर्नु भएको छैन।”

“कांग्रेस सहितको राष्ट्रिय सहमति भन्नु भएको हो भने सत्ता गठबन्धनले संयुक्त रूपमा गठबन्धनको उम्मेदवारको पक्षमा कांग्रेससँग भोट माग्नु पर्ने” उनको भनाइ छ।

नेता गुरुङ भन्छन्, “गठबन्धनले कांग्रेसलाई भोट हाल्ने कुरा त आउँदैन।”

प्रचण्डले पाउलान् पाँच वर्ष प्रधानमन्त्री?

राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रवार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको प्रयास भइरहेको भन्दै त्यसमा आफू अडिग गरेको बताएका छन्।

शक्ति सन्तुलनका निम्ति एमालेलाई राष्ट्रपति दिन नहुने पक्षमा रहेको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, “प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति हुनुपर्छ भन्नुभयो।”

त्यो अडानलाई आफ्नो पक्षमा पार्न कांग्रेस वा एमाले पाँचै वर्ष प्रधानमन्त्री बनाउन तयार हुन्छन् कि भन्ने अपेक्षा प्रधानमन्त्रीले पनि राखेको ठानिन्छ।

तर कांग्रेस प्रवक्ता महतका अनुसार राष्ट्रपति पाउने सर्तमा प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन कांग्रेस तयार भएको खबर गलत हो।

देउवा र प्रचण्ड

तस्बिर स्रोत,REUTERS

कतिपयले एमालेले सभामुख पाइसकेको र राष्ट्रपति लिने हो भने प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन एमाले तयार भए गठबन्धन जोगिने अनुमान गर्छन्।

तर नेता गुरुङ भन्छन्, “भुईँको टिप्छु भन्दा पोल्टाको पोखिन सक्छ भन्ने माओवादीहरूले बुझ्नु पर्छ। किनकि यहाँ धेरै राजनीतिक शक्तिहरू बेइमान छन्, अरूद्वारा निर्देशित हुन्छन्, स्वायत्त निर्णय गर्ने हैसियत राख्दैनन्।”

कांग्रेस रोक्ने एमालेको वैकल्पिक कार्ड के?

गठबन्धन टुटेमा प्रदेशका सरकारहरू पनि हेरफेर हुने देखिन्छ। त्यो अवस्थामा एमालेलाई विस्थापित गर्न कांग्रेस तयार नै छ।

त्यसैले कतिपय एमाले नेताहरू गठबन्धन जोगाउन लचिलो भएर वैकल्पिक वा साझा उम्मेदवार खोज्नुपर्ने पक्षमा रहेको बताइन्छ।

त्यस सन्दर्भमा नेता गुरुङले भने, “अहिले हामीले त्यसबारे छलफल चलाइसकेका छैनौँ। प्रश्नहरू त्यस ढङ्गले पनि उठ्ने गरेको छ। गठबन्धन कायम राख्न जसरी हुन्छ त्यसरी जानुपर्‍यो।”

उनी गठबन्धनभित्र सबैको जित हुने गरी अघि बढ्नु पर्ने बताउँछन्। त्यसका विकल्पहरूबारे उनले केही खुलाएनन्।

उनको भनाइ छ, “राष्ट्रपति एमालेले पाउने पुस १० को सहमति हो। त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ, सन्तुष्ट गर्न सकिन्छ र ‘विनविन’मा पुग्न सकिन्छ त्यसबारे सोच्दा राम्रै हुन्छ।”

राष्ट्रपतिको उम्मेदवारी दर्ता अर्को हप्ता गर्नुपर्ने भएकाले एमाले र माओवादीले अब आआफ्ना विकल्पबारे खुलेर कुरा गर्ने र त्यससँगै भावि राष्ट्रपति र त्यसलाई लिएर हुनसक्ने सत्ताको खेल निर्णायक मोडमा पुग्ने ठानिएको छ।(बीबीसी)


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया