Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशपर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको अपाङ्गमैत्री पक्की सडक निर्माण

पर्यटकीयस्थल गलेश्वरमा फुटपाथसहितको अपाङ्गमैत्री पक्की सडक निर्माण


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिक पर्यटकीयस्थल गलेश्वरमा गण्डकी प्रदेश सरकार र उपभोक्ताको लागत साझेदारीमा फुटपाथसहितको सडक निर्माण भएको छ । फुटपाथ (पदमार्ग) सहितको अपाङ्गमैत्री पक्की सडक निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ ।

निर्माण समितिका अध्यक्ष बमबहादुर पुनले गलेश्वर मन्दिरदेखि कालीगण्डकी नदी जाने बाटो पाँच मिटर चौडाइ भएको १२५ मिटर लामो सडक ढलान गरेको जानकारी दिर्दै सडकको डिलतर्फ रेलिङ र स्लेट ढुङ्गा बिछ्याएर पैदलमार्ग बनाइएको बताए । सडक बनेपछि गलेश्वरको खेलमैदान र सभाहलसम्म सवारी साधन लैजान सकिने भएको छ । गलेश्वर मन्दिरदेखि राममन्दिर जोड्ने झोलुङ्गे पुल नजिकै सडक पुगेको हो ।

गलेश्वर ज्येष्ठ नागरिक आश्रममा बस्ने हिदीका बमबहादुर शेरपुञ्जाले झोलुङ्गे पुलदेखि कालीगण्डकी नदीको किनारसम्म पुग्ने करिब ७० मिटर ढलान गरेको पैदलमार्ग व्यक्तिगत लगानीमा बनाएका छन् ।

उपभोक्ता समितिका सचिव रामबहादुर बानियाँले ४२ लाख ६७ हजार २३९ को लागतमा सडक र पदमार्ग निर्माण भएको बताए । “सो योजनाका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट रु ४० लाख बजेट विनियोजन भएको थियो”, उनले भने, “उपभोक्ताको तर्फबाट चार लाख २७ हजार २३९ बराबरको लागत साझेदारी भएको छ ।”

गत पुष २५ गते २०८१ साल जेठ २५ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको थियो । पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णु पौडेलले उपभोक्ता समितिको सक्रीयताका कारण लक्ष्यभन्दा तीन महिनाअघिनै योजना निर्माण सकिएको बताए ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको कालीगण्डकी नदीको किनारमा एउटै चट्टानमाथि अवस्थित गलेश्वर मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित छ । साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र शिवरात्रि पर्वमा बिशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजा र दर्शन गर्न सकिन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।


क्याटेगोरी : प्रदेश समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया