Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशदोलखामा होलीको छुट्टै रौनक

दोलखामा होलीको छुट्टै रौनक


दोलखा । फागुपूर्णिमा अर्थात् होली पर्व दोलखामा पनि विशेष उल्लासका साथ मनाइएको छ । जिल्लाका ग्रामीण भेगमा खासै होलीको रौनक नदेखिए पनि बजार क्षेत्रमा भने होलीको छुट्टै रौनक छाएको थियो ।

आइतबार जिल्लाको चरिकोट, जिरी, सिंगटी, मैनापोखरी, तामाकोशीलगायतका बजारमा होली धुमधामसँग मनाइएको हो । सदरमुकाम चरिकोटमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । सरल नेपाल दोलखा र चरिकोट क्लबले सदरमुकाम चरिकोट बजारमा स्लो बाइक रेस प्रतियोगिता तथा होली विशेष डान्स कार्यक्रम आयोजना गरी होली मनाएको हो । सरल नेपालले विगत वर्षजस्तै यस वर्ष पनि सदरमुकाम चरिकोटमा स्लो बाइक रेस तथा खुला डान्स कार्यक्रम आयोजना गरेको सो संस्थाका सौगात थापाले जानकारी दिए ।

त्यसैगरी होलीकै अवसर पारेर पर्यटकीय नगरी जिरीमा युवा सञ्जाल जिरीले बृहत् होली विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । जिरीका स्थानीयहरू बजारमा जम्मा भई एक आपासमा अबिर, रङ्ग दलेर खुसी साट्दै होली मनाएका हुन् । यस्तै, जिल्लाको मैनापोखरी, सिङटी, भैसे, तामाकोशीलगायतका स्थानीय बजारमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर फागु पर्व मनाइएको छ । पछिल्लो समय गाउँघरमा फागुपूर्णिमा अर्थात् होली पर्वको महत्व हराउँदै गए पनि सहर बजारमा भने होलीको महत्व र परम्परा उस्तै रहेको छ ।

यस्तै, होलिकै अवसरमा अनलाइन मिडिया सोसाइटी दोलखाले पनि मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो । दोलखाका पत्रकार र जनप्रतिनिधिबीच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा जनप्रतिनिधिको टिम विजयी भएको छ । प्रतियोगितामा भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका तथा बैतेश्वर गाउँपालिका जनप्रतिनिधिहरू र दोलखा दुई दर्जन पत्रकारहरूको सहभागिता रहेकोे थियो ।


क्याटेगोरी : बागमती प्रदेश
ट्याग : #page 3

तपाईको प्रतिक्रिया