Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाराष्ट्रिय परीक्षा बोर्डद्वारा लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

राष्ट्रिय परीक्षा बोर्डद्वारा लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा


भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन एवं नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डले यस वर्ष अगामी चैत १५ देखि २७ गतेसम्म एसइई सञ्चालन गर्दैछ ।

बोर्डले चैत १५ देखि २७ गतेसम्म नियमित तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिने र नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार सार्वजनिक हुने बताए । उनले यस वर्ष परीक्षामा सहभागी हुने विद्यार्थीले प्रत्येक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अर्थात् १०० पूर्णाङ्क रहेका विषयमा ३५ अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जानकारी दिए ।

निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याएमा उसको नतिजामा अवर्गीकृत (ननग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिकाले गरेको छ । यस्तो अवस्थामा तीन पटकसम्म दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । अब विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्नका लागि एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको जनाउँदै अध्यक्ष डा शर्माले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने र विद्यार्थी फेल हुने बताए ।

बोर्डले कक्षा ११ र १२ मा यसअघि नै ग्रेडिङ प्रणाली लागू गरिसकेको छ । एसइई परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्षको एसइईमा नियमित र ग्रेडवृद्धितर्फ चार लाख ८९ हजार परीक्षार्थी परीक्षामा सहभागी हुने जानकारी दिए ।

परीक्षाको तयारीका लागि बोर्डले आवश्यक पर्ने उत्तरपुस्तिका छपाई, प्रश्नपत्र छपाइदेखि अन्य सामग्रीको तयारी, परीक्षा केन्द्र निर्धारणको तयारी तीव्ररुपमा सुरु गरिसकेको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया