Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीगंगालाल ह्दय केन्द्रलाई छिट्टै स्वास्थ्य प्रतिष्ठान बनाइने

गंगालाल ह्दय केन्द्रलाई छिट्टै स्वास्थ्य प्रतिष्ठान बनाइने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन् । केन्द्रको २८ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले केन्द्रलाई प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए ।

मुटु रोगको उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि प्रतिष्ठान आवश्यक रहेको उनले बताए । गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रूपमा अगाडि बढाए मात्र भविष्यमा हुन सक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो । यसलाई सरकारले प्राथमिकतामा राखेर काम अगाडि बढाएको उनले जानकारी दिए । विद्यमान चिकित्सा शिक्षा ऐनका कारण अहिले कयौँ विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको उनको भनाइ थियो । मन्त्री बस्नेतले सरकारले चाँडै चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर देशलाई मेडिकल शिक्षाको हवको रूपमा विकास गर्ने समेत दाबी गरे ।

गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एसियामै आफूलाई अब्बल सावित गरिसकेको उनले बताए । देशका अरू अस्पतालहरूले पनि गंगालालबाट सिक्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा सहिद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार आठ सय ३८ जनाको मुटुको शल्यक्रिया गरेको जानकारी दिए । यस्तै, उनले सरकारले प्रतिष्ठान नबनाए भविष्यमा कार्डियाक सर्जनको अभाव हुने बताए । डा. मल्लले विगत सात वर्षदेखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउँदै त्यो अवस्था अन्त्य गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको उल्लेख गरे । यस्तै, उनले दुई सय शय्याको अत्याधुनिक बाल मुटुरोग भवन निर्माणको काम अघि बढाउन मन्त्रालयसँग आग्रह गरे ।

कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रूपमा आफूलाई उभ्याएको र अन्य अस्पतालहरूले पनि पाठ सिक्नुपर्ने बताए । कार्यक्रममा स्वास्थ्यमन्त्री बस्नेतले केन्द्रमा रहेर २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरेका थिए । कार्यक्रम केन्द्रका संस्थापक अध्यक्ष डा अरुण सायमीको अध्यक्षतामा सम्पन्न भएको थियो । विसं २०५२ सालमा नौ शय्याबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले तीन सय शय्यामा सञ्चालित छ ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 12

तपाईको प्रतिक्रिया