Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा किन हराउँछन् पर्यटकहरू ?

नेपालमा किन हराउँछन् पर्यटकहरू ?


निनाम कुलुड. ‘मंगले’
नेपालमा घुम्न आएका र घुम्न जाँदा त्यतै हराएका पर्यटकहरूका बारेमा भन्नुपर्दा हामीले कहिलेकाहीँ पत्रपत्रिकामा पढ्ने गरेका छौं कि, ‘नेपालको … मा घुम्न गएका विदेशी पर्यटक यति दिनदेखि हराए/बेपत्ता भए ।’ अनि त्यसरी हराएका पर्यटकका आफन्तहरू नेपाल आएर हराएका आफन्त भेट्टाएमा वा आफन्तको लास वा कुनै चिनो मात्रै पनि भेट्टाएमा हजारौं–लाखौं रकम उपहार दिने भनेर हारगुहार गर्नेदेखि लिएर फोटोसहित आफन्तको हुलियासहितको सूचना पत्रपत्रिकामा छाप्ने गरेको देख्न, सुन्न र पढ्न पाइन्छ ।

त्यस्तै गत भदौ अन्तिमदेखि रसुवा जिल्लाको तामाङ हेरिटेज ट्रेलको नागथली–थोङमेन (थुमन) क्षेत्रबाट दुई जना विदेशी पर्यटकहरू दक्षिण कोरियाका ४२ वर्षीय सि सङ र नेदरल्यान्डका २७ वर्षीय थोमस -याक्स सम्पर्कविहीन वा भनौँ हराइरहेका छन् । उनीहरूको अवस्था हालसम्म पनि अज्ञात नै छ ।

यसरी नेपालमा घुम्न आएका र घुम्न जाँदा त्यतै हराएका वा बेपत्ता भएका पर्यटकहरूका बारेमा कुरो गर्दा वा त्यसरी नेपाल घुम्न आउँदा हराउने विदेशी पर्यटकहरूको इतिहास हेर्दा सर्वप्रथम विसं २०३७ चैत १ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका जोडीद्धय ओल्फगाग र हेनरिखे सोही वर्षको कात्तिकमा पोखरा– जोमसोम– साल्दाङ– छार्काभोट– दुनेै– ढोरपाटन– पोखरा घुम्न गएका थिए । तर ६ महिनासम्म पनि सम्पर्कमा नआएपछि काठमाडौँस्थित जर्मन राजदूतावासले खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएको थियो । उनीहरूलाई स्थानीय केही व्यक्तिहरूले पैसा र सरसमानको लोभमा हत्या गरेका थिए । तर, त्यो बेलाको अचम्म लाग्दो कुरो के भने त्यो बेला तत्कालीन श्री ५ को सरकारले विदेशीहरूलाई माथिल्लो डोल्पा जान नै नपाउने (प्रतिबन्ध लगाएको) अवस्था थियो । जबकि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रमा गएको भनी ती दुईको लास भेटिएपछिको गोरखापत्रमै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।

त्यस्तै विसं २०६० मा पनि श्रीलंकन मूलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण–भ्यालीतर्फ लागेका थिए । तर, उनी धेरै लामो समयसम्म पनि सम्पर्कमा नआएपछि उनकी दिदी एना नेपाल आई खोजी कार्यमा लागेकी थिइन् । तर, उनी भेटिए/नभेटिएको बारेमा कतै कुनै समाचार छापिएन । यता त्यही सेरोफेरोमा राजधानीको मुटुमै रहेको रानीवनमा पनि विसं २०६१/२०६२ मा फ्रेन्च र जर्मन महिलाद्वय सेलिना र, ग्रुन्ची महिनौँसम्म हराएका थिए ।

पछि फ्रेन्च दूतावासले खोजी गर्दा सेलीनाको ब्रा र स्वेटर रगतले लत्पतिएको अवस्थामा भेटिएको थियो भने ग्रुन्चीको पनि खोजीका लागि उनको केटा साथी र बहिनी नेपाल आएका थिए । त्यस्तै हराएका पर्यटकको बारेमा कुरो गर्दा सन् २००९ अप्रिल तेस्रो साता इरानका एक पर्यटककी श्रीमती पनि हराएका आफ्नो श्रीमान महमुद हरारीको खोजीमा आएकी थिइन्, एक हजार अमेरिकी डलरको पुरस्कार राशि दिने घोषणासहित । तर, उनको पनि अत्तोपत्तो भएन ।

यसरी फेरि पनि हराएकै पर्यटकको कुरो गर्दा २०१० को सेप्टेम्बरमा पोखराको ड्याम साइडबाट जापानीज पर्यटक पनि हराएका थिए । यसरी ती जापानीज पर्यटक हराएपछि उनका बुवा आएर छोरोको सास वा लास भेटेमा एक लाख पुरस्कार दिने घोषणा गरेका थिए । तर, ती जापानीज पर्यटकको पनि खासै पत्तो लागेन । त्यसैले यो पङ्क्तिकारले विदेशी पर्यटकको सुरक्षा र नेपालीहरूका रोजगारीका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गरिनुपर्छ भनी अहिलेदेखि होइन, प्रकाश राई ‘दीनदुःखी’को नाममा लेख्दादेखि नै उठाउँदै आएको हो ।

यस्तो नीतिनियम भुटान र चीनले लागू गरेको पनि छ । अझ त्यति भएर पनि भुटानले त जति भन्यो, त्यति ह्वारह्वार्ती विदेशी पर्यटक भित्र्याउँदैन । नेपालमा पनि अनिवार्य गाइडको नियम लागू गर्न सकेमा विदेशी पर्यटक हराउने र, कहिल्यै नभेटिने समस्या पूर्णतः हट्छ । तर, यसका विरुद्धमा नेपालमा रहेका दातृनिकायमा कार्यरत व्यक्तिहरू, केही आईएनजीओ/एनजीओहरू र नेपालमा आफूखुसी ट्रेकिङलगायतका पर्यटकीय प्याकेज बेचेर गैरकानुनी ढंगले आर्जन गरिरहेका विदेशी गाइडहरूले समेत एक स्वरमा मानव अधिकारको कुरो गर्नेगरेका छन् । उनीहरूको भित्री उद्देश्य भने आफूखुसी डलरदाताहरूलाई गाउँ–गाउँ घुमाउनु, ट्रेकिङ गराउनु आदि नै हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया