Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदोस्रो भेरियन्टको कोरोना संक्रमण र जनचेतना

दोस्रो भेरियन्टको कोरोना संक्रमण र जनचेतना


काठमाडौं ।
छिमेकी मुलुक चीनको वुहानबाट सुरु भएको कोभिड १९ रोगका कारण हजारौं मानिसहरूले आफ्नो अमूल्य सम्पत्ति जीवन गुमाइसकेका छन् । नेपालमा कोभिड १९ रोगका संक्रमणको पुष्टि माघ १० गते भएको थियो । कोरोनाको महामारीका कारण सबै क्षेत्र प्रभावित बन्यो र विश्वकै आर्थिक स्थिति कमजोर बनायो । करिब एक वर्ष नपुग्दै फेरि कोरोनाको दोस्रो लहरले विश्व पुनः आतंकित हुनपुगेको छ । संसारभरि कोरोना संक्रमितको आँकडा करिब १५ करोड पार भइसकेको र यीमध्ये करिब पन्ध्र करोडभन्दा बढी मानिसहरू कोरोना भाइरसबाट संक्रमित भइसकेको अनुमान गरिएको छ ।

कोरोनाकै कारण छिमेकी राष्ट्र भारत नराम्ररी थच्चिएको छ । अहिले अमेरिका, चीनलगायतका देशहरूले भारतलाई स्वास्थ्य सामग्रीलगायतका क्षेत्रहरूमा सहयोग पु¥याइरहेका छन् । इन्डियन भेरियन्ट संसारको १७ देशमा फैलिसकेको जनाएको छ । भारतमा तीव्र दरमा बढिरहेको कोरोनाका कारण दिनहुँ लाखौँको संख्यामा संक्रमित थपिँदै गएका छन् भने मृत्युदर पनि बढिरहेको तथ्यांकले देखाइरहेको छ ।

समयमै विशेषज्ञहरूको अनुमानलाई बेवास्ता गरिँदा भारतमा मानवीय क्षति हुनपुगेको यथार्थ हो । भारतका सम्पूर्ण अस्पतालहरू बिरामीले भरिसकेको र खुला आकाशमुनि समेत उपचार भइरहेको दृश्य टेलिभिजनका पर्दाहरूमा देख्न सकिन्छ । अति नै दर्दनाक अवस्था रहेको भारतमा कोरोनाबाट मृत्यु हुनेहरूको चौबीसै घण्टा सामूहिक अन्येष्टिको दृष्यले कसको मन नरोला र ? अक्सिजनको अभाव, औषधिको अभावका कारण कोरोनाको खोप उत्पादन गर्ने भारत अहिले स्वास्थ्य उपचार गर्ननसकेर चपेटामा परेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्षेत्रहरूबाट सक्दो सहयोग गर्नु अपरिहार्य देखिन्छ ।

त्यस्तै गरी भारतमा मजदुरी गर्न गएका कैयन नेपालीहरू कोरोनाकै कारण मृत्युवरण गर्न बाध्य भएका छन् भने बाँचेकाहरू नेपाल फर्कने क्रम तीव्र रूपमा भइरहेको देखिन्छ । सीमा नाकाहरूमा कडाइका साथ चेकजाँच गरी क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा ती बिरामीहरू सिधै समुदायमा जाँदा कोरोना समुदायमा फैलिएको देखिन्छ । हेलचेक्र्याइँ, झुट र चोरबाटो प्रयोग गरी नेपालमा छिर्ने गलत प्रवृत्तिका कारण नेपालमा पनि भुसको थुप्रोमा आगो सल्केझैँ कोरोना बढ्दै गएको देखिन्छ । भारतमा भएको कोरोनाको कारण त्यस्को प्रत्यक्ष असर नेपालमा समेत पर्न थालेको देखिएको छ । नेपालमा पनि संक्रमितको दर र मृत्युदर दिनानुदिन बढ्दै गइरहेको तथ्यांक स्वास्थ्य मन्त्रालयले गरेको प्रेस रिलिजबाट थाहा पाउन सकिन्छ ।

पछिल्लो समय नेपाल सरकारले कोरोना रोकथामको लागि विभिन्न प्रयासहरू गरिरहेको देखिन्छ । निषेधाज्ञा जारी गरी सर्वसाधारण नागरिकहरूको जिउज्यान जोगाउने कार्यमा सरकारको मुख मात्रै ताकेर हुँदैन हामी सबै सतर्क र नियम पालना गर्नुपर्ने आवश्यकता रहिआएको छ । लकडाउनको समयमा सरकारले निषेधित गरेका कार्यहरू अहिले पनि पहिलेजस्तै गरी सुचारु गर्नखोज्नु सकारात्मक मान्नसकिँदैन । काठमाडौँ उपत्यकालगायतका सहरी र ग्रामीण क्षेत्रहरूमा अहिले सुरक्षा मापदण्ड अपनाएर जात्रा पर्व मनाइरहेको देखिन्छ तर पनि मानिसहरूको भिडमा गरीएको सो पर्व र जात्राका कारण कोरोनाको दोस्रो लहरलाई टेवा पुग्दैन भन्ने के ग्यारेण्टी छ र ?

स्थानीय निकायहरूले जात्रा, पर्व मनाउन स्वास्थ्य मापदण्डको विषय उठाउनु सकारात्मक भए पनि पालना नहुनु दुर्भाग्य नै हो । अनावश्यक रूपमा भीडभाड नगर्ने, अनावश्यक रूपमा बाहिर निस्कने, भेटघाट गर्नेजस्ता क्रियाकलापलाई रोक्नसकेको खण्डमा पनि कोरोना नियन्त्रण गर्न सकिन्छ । हुन त सरकार आफैँले पनि बैठक, उट्घाटनजस्ता कार्यहरूमा कोरोनाको निश्चित मापदण्डहरू पालना गरेको देखिँदैन । यो दुःखदायी विषय हो । सरकारले पनि नियम पालना गर्नुपर्दछ । यो रोग अहिले विश्वभर तीव्र गतिमा फैलिरहेको र दिनहुँ सो रोगका नयाँ संक्रमितहरू फेला परिरहेका छन् तर यसको धेरै किसिमका औषधिहरू भ्याक्सीनहरू आए पनि सबै नागरिकहरूले भ्याक्सीन लगाउन पाएका छैनन् ।

विश्वभरि फैलिएको कोभिड १९ नियन्त्रण गर्नका लागि नेपाल सरकारले निर्णय गरेको लकडाउनमा थप कडाइ गर्दै लैजाने, स्थानीय तहबाट अर्को स्थानीय तह र एक प्रदेशबाट अर्को प्रदेश आवागमनमा पूर्णतः निषेध गर्नेजस्ता कार्यहरू नेपाल सरकारले समयमै गर्नुपर्ने देखिन्छ । यसको पालना हामी सबैले गर्नुपर्दछ र कोभिड १९ नियन्त्रणको उपायलाई सबैले कार्यान्वयन गर्दै जानुपर्दछ ।

नेपाल सरकारले सातवटै प्रदेश, जिल्ला स्थानीय तहहरूमा भेटिएका संक्रमितहरूको परीक्षणका लागि परीक्षणको दायरा फराकिलो बनाउँदै जानुपर्ने आवश्यकता रहेको देखिन्छ । नेपाल सरकारले विभिन्न अस्पतालहरूमा उपचाररत रहेको कोभिड १९ का संक्रमितहरूको उपचारको लागि द्रुत मार्ग अपनाई संविधानप्रदत्त मौलिक हकको समेत पालना गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

अहिले नेपाल सरकारले आंशिकरूपमा लकडाउन गरी आम नागरिकहरूको जिउज्यानको शान्तिसुरक्षा गर्ने गहन जिम्मेवारी लिएको छ । भोलि विकराल रूप लिँदै गएपछि पूरै लकडाउन गर्नुभन्दा लकडाउनको मोडालिटी समयमै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिन्छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्दछ । अहिलेको अवस्था भनेको सम्पूर्ण नेपालीहरूको ज्यान जोगाउन प्रयास गर्नु नै सरकारको पहिलो प्रमुख प्राथमिकता हुनुपर्दछ । नेपाल सरकारले चाहेर यो आंशिक लकडाउन गरेको होइन यो कुरा सबैले बुझ्नु जरुरी रहेको छ । विश्वका अन्य देशहरूले समयमै रोग नियन्त्रणका लागि पहल नचालिँदा भएका दर्दनाक दृश्यहरू तपाईंहामीहरूले अहिले देखिरहेका छौँ ।

विशेषगरी इटाली, फ्रान्स, स्पेनले समयमै रोग नियन्त्रणका उपाय नगरेको र हेलचेक्र्याइँ गरेका कारण लाखौँ व्यक्तिले त्यहाँ ज्यान गुमाइएको प्रमाण हामीले देखेकै छौँ । त्यस्तो हविगतबाट बच्न पनि लकडाउनको आवश्यकता रहेको देखिन्छ । कोभिड १९ ले कुनै धर्म, वर्ण, लिंग, जातजाति र राष्ट्र छुट्याउँदैन भन्ने उदाहरण हामीले भोगिसकेका छौँ । नेपालजस्तो गरिब मुलुकले अहिले कोभिड १९ सँग संघर्ष गरिरहेको छ । हाम्रो समाजभित्र कोरोना भाइरसको प्रकोप देखिएसँगै अनेकन दूष्प्रचारहरू भएका थिए, जसले गर्दा हाम्रो समाज र आम नागरिकहरू त्रसित बनेका थिए ।

अहिले नेपाल सरकारले कोभिड १९ रोकथाम र नियन्त्रणको कार्य, कदमलाई सकारात्मक रूपमा लिनु उपयुक्त हुने देखिन्छ । कोरोनाका कारण अहिले दैनिक मजदुरी गरी खाने श्रमिकहरू सर्वसाधारणहरू मर्कामा परेका छन् । त्यस्तै गरी नेपालमा विभिन्न भिसाबाट आएका पर्यटकहरूलाई उनीहरूकै देशमा फर्काउने कार्य, सीमाहरूमा कडाइ तथा विदेशबाट आएकाहरूलाई सरकारले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्यरूपमा १४ दिनसम्म बस्नुपर्ने नियमलाई पालना गर्नुपर्ने देखिन्छ । रोगसँग लड्नका लागि जतिसुकै समय पनि नागरिकहरूले कुर्न सक्दछन्, अहिलेको अवस्थामा धैर्य, साहस र आपसी सहयोग र सद्भावको आवश्यकता रहेको अवश्य पनि हो । अहिले सरकारले गरेकोे लकडाउन आफैँको लागि हो । आफ्नो स्वास्थ्यभन्दा ठूलो केही हुनसक्दैन ।

लकडाउनको समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई नेपाल सरकारले नियमित तथा छड्के बजार अनुगमन गरी त्यस्ता कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्नुपर्दछ । त्यस्तैगरी खाद्यान्न, औषधिलगायतका अतिआवश्यक पर्ने चिजहरूको आयात र वितरणलाई पारदर्शी बनाउनुपर्ने आवश्यक देखिन्छ । नेपाल सरकारले दोस्रो चरणको भेरियन्ट रोग नियन्त्रण र नागरिकहरूको सुरक्षाका लागि विभिन्न उपायहरू अवलम्बन गर्नु आवश्यक रहेको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया