Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसामाजिक दूरीको पालनामा कडाइ गर

सामाजिक दूरीको पालनामा कडाइ गर


काठमाडौं,बैशाख १४
सरकारले कोरोना भाइरस संक्रमणको यकिन गर्न परीक्षणलाई उच्च प्राथमिकता दिएको र आवश्यकता र पहिचान भएका ठाउँमा तत्कालै पहुँच हुने वातावारण बनाएको भन्ने जानकारी दिएको छ । यतिबेला संक्रमितको संख्या धेरै नभए पनि यसको विस्तार नजानिदो रूपबाट भएको देखिन्छ । पश्चिमी पहाडतिर बढी रहेको यो संख्या अब पूर्वी पहाडमा चढेको पाइयो । उदयपुर यतिबेला सबैभन्दा बढी संक्रमित रहेको जिल्लामा परेको छ । यो भनेको पूर्वी पहाडतर्फको यात्रा भन्ने बुझनुपर्ने हुन्छ । कामना गरौं त्यस्तो नहोस् तर उदयपुर त्यस्तो जिल्ला हो, जो पूर्वी पहाडी जिल्लाको प्रवेशको केन्द्र हो । अहिले नै यो जिल्ला हुँदै एक जना भोजपुरको उपल्लो गाउँमा पुगेका पाइयो । त्यो ठाउँ यस्तो रह्यो कि संक्रमित भनी पहिचान भैसेकेपछि पनि तीन÷चार दिनसम्म अस्पताल ल्याउन सकिएको छैन । यसले पहाडी जिल्लाको विकटता बुझाउँछ । यद्यपि पश्चिममा पनि यस्तै होला तर पश्चिममा केन्द्रको ध्यान केही पहिले नै पुगेको हँुदा साधनस्रोत पनि व्यवस्था भएको मान्नुपर्छ । तर, पूर्व त्यस्तो हुन सकेको छैन । त्यसकारण नयाँ विस्तार भएको ठाउँमा के हुन्छ भन्ने चिन्ता जन्माएको अवस्था छ ।

यो आफ्नो ठाउँमा रह्यो । यतिबेला सरकारले प्रयोगमा ल्याएको प्रविधिमाथि पनि गम्भीर प्रश्न खडा भएका छन् । व्यक्तिले मात्र होइन संघसंस्थाहरूले पनि यसबारे कुरा उठाइरहेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले संक्रमणको यकिन गर्न प्रयोग गरिएको आरडीटी प्रविधि भरपर्दो नभएकोले त्यसलाई विस्थापित गरी त्यसको ठाउँमा पीसीआर प्रविधिबाट परीक्षण गर्न भनेको छ । अहिले प्रयोग भएको आरडीटी प्रविधि भरपर्दो छैन भन्ने सुरुमै बताइएको थियो । यतिबेला यो प्रविधि चाइनाबाट ल्याइएको प्रयोग भैरहेको छ, जो पहिले यो आफैँ शंकाको घेरामा परेर निकै दिनसम्म प्रयोगमा आउन सकेको थिएन । आयोगकैअनुसार पनि अरू देशको अनुभवबाट समेत आरडीटी प्रविधि विश्वासिलो नरहेको देखिएको र कारोना संक्रमणको यकिन गर्न पीसीआर परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्रता दिनुपर्ने हुन्छ जो त्यसतर्फ सरकार सतर्क भएको पाइएन । सरकारका आफ्ना बाध्यता होलान् तर भर पर्न नहुने प्रविधिलाई त विस्थापन गर्नु पर्छ नै । त्यसै पनि परीक्षणको गति तीव्र छैन । संक्रमण विस्तार हुन नदिनेतर्फको एउटै मात्र विकल्प हो परीक्षणलाई विस्तार गर्नु । यसतर्फ सरकारका क्रियाकलापहरू पारदर्शी हुन जरुरी छ ।

सरकारले मानव अधिकार आयोगको सुझाव मानिदियो मात्रै भने पनि पुग्छ । आयोगले उदयपुरलगायतका जिल्लाका समुदायमा कोरोना भाइरसको संक्रमण फैलिएको तर्फ गम्भीर हुन भनेको छ । आयोगको अध्ययनले केन्द्र, प्रदेश र जिल्लास्तरको अनुगमनबाट मुलुकका धेरै ठाउँमा लकडाउन र सामाजिक दूरीको पालना नभएको देखाएको पाइयो । उसको भनाइ छ, त्यसबाट संक्रमणको जोखिम झन् बढेको छ । आयोगको अनुगमनले काठमाडौं उपत्यका र विभिन्न सहरबाट मानिसहरू भीडभाड गरी गन्तव्यतर्फ लाग्नु, तराईका कतिपय जिल्लामा खचाखच हाटबजारहरू यथावत सुचारु हुनु, निश्चित समय खुल्ने गरेका खाद्यान्न पसलहरूमा पनि भीड लागी एक–आपसको दूरी कायम हुन नसकेको देखायो । सरकारका लागि यो गम्भीर विषय हो र यसप्रति समयमै सचेत हुन जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया