Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवातावरणमैत्री ल्यान्डफिल्ड साइट किन ?

वातावरणमैत्री ल्यान्डफिल्ड साइट किन ?


डा. माधव अधिकारी
काठमाडौँलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेला–बेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भएको छ । नेपालका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगीनसक्नु, बुज्नेलाई बुझीनसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहुँ तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडौं उपत्यकालगायत अन्य सहरी क्षेत्र दूषित भई सहरभरि सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्ति झाडापखाला, विषम ज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था सिर्जना भएको पाइन्छ ।

प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वन जंगल आदि सहरीकरणको तीव्र चापले गर्दा ह्रास भएको छ । जसको फलस्वरूप आदिमकालदेखि मानवसहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएको छ । सो विनाशको फलस्वरूप लाखौं नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रूपमा श्वासप्रश्वास, प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्युसमेत छन् ।

नेपालको प्रमुख सहर काठमाडांँको सन्दर्भमा वातावरणको मुख्य समस्याको रूपमा छ । काठमाडौँमा वायु प्रदूषणको मुख्य कारकको रूपमा भन्नुपर्दा सवारी साधनको बढ्दो चाप, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावि प्रयोग, वनजंगल विनास, अव्यवस्थित सहरीकरण, औद्योगीकरण, फोहरमैलाको अव्यवस्थित, अनुगमनको अभाव, ऐन कानुनको कार्यान्वयन नहुनु, जनचेतनाको कमी, अवैज्ञानिक सडक विस्तार, भूकम्पबाट विनाश भएका भौतिक संरचनाहरूको निर्माण तथा मर्मतले गर्दा काठमाडौँलगायत देशको अन्य सहरी क्षेत्रमा फोहोरमैलाको समस्या तथा धुलो र धुवाँकोे प्रदूषण उच्च बिन्दुमा छ ।

फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौँ महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न सहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडौँ उपत्यकाको हाल दैनिक निष्काशन हुने करिब १२ सय मेट्रिक टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न वाहनामा फोहरमैला डम्पिङ गर्न नदिई काठमाडौँलगायत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थमा तीव्र असर पारेको छ । साथै ट्राफिकमा समेत अस्तव्यस्त तुल्याएको छ ।

राजधानी काठमाडौँँको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्कासन गर्न थालेको १४ वर्ष पुगिसक्यो । दुई वर्षको लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनि बनाएको सो डम्पिङ साइटमा हाल १८ ओटा नगरको फोहोर फालिदै आएको छ । वैकल्पिक ल्यान्डफिल्ड साइटका रूपमा नुवाकोटके बन्चरे डाँडामा स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण हुँदै छ । सिसडोल देखि बन्चरे डाँडासम्मको एक दशमलव नौ किलामिटर सडक अन्तिम चरणमा पुगेको भए पनि ल्यान्डफिल्ड साइटको भौतिक प्रगति भने ३० प्रतिशत मात्र छ ।

दुई वर्षको लागि भनेर बनाएको डम्पिङ साईटमा १४ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्दले स्थानीयवासी आक्रान्त छन् । फोहोर कुहिएर बगेको लेदोका कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ, गाइवस्तु एवं कृषि उपज, जलथल, वातावरणमा नै ठूलो असर परेको छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकोले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्टयाएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट बनाउने कुरा सुनिएको छ । सो पनि ढिलाइ भइरहेको छ । ल्यान्डफिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फाहोर बोक्ने गाडी ल्यान्डफिल्ड साइटमा पुग्न समेत मौसमी समयमा कठिनाइ छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिदै आएको सिसडोल ल्यान्डफिल्ड साइट समस्या ग्रस्त छ ।

ढिलै भए पनि बन्चरे डाँडा ल्यान्डफिल्ड साइड माघको अन्तिमसम्म तयार भई फाल्गुण १ देखि फोहोरमैला व्यवस्थापन गर्ने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १७ सय रोपनी जग्गा ओगोटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्टयाएर अधिकतम पुनः प्रयोग तथा उत्पादन गरी बाँकी फोहोर मात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट एक सय वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । जे होस् बन्चरे डाँडा ल्यान्डफिल्डा साइटबाट स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य हुने कार्य नभई वातावरणमैत्री हुनु पर्दछ ।

फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्नानुसार छन्ः कानुनको कार्यान्वयन नहुनु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता नपर्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक भौतिक पूर्वाधारहरूजस्तै पुनुः प्रयोगशाला, ल्याण्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमभैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेशिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्याङ्क र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याङ्कनको अभाव, फोहोरमैला व्यवस्थापनमा निहित स्वार्थ, फोहोरमैला व्यवस्थापनमा राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्वको प्रभाव, फोहोरमैला व्यवस्थापनमा अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन केन्द्रको संस्थागतरूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेको ।

यी माथिका कारणबाट काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्था चुनौतीपूर्ण बनेको छ । फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी सोसम्बन्धी दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनु पर्ने, फोहोरमैला व्यवस्थापनको तथ्याङ्कलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ ।

यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरूपमा उल्लेख हुनुपर्दछ । नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन हुन नसकेको स्थितिमा मानव संशाधान विकास गर्न, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिका उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्याण्डफिल्ड साइडको व्यवस्था गर्ने, पब्लिक—प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकोले कतै निकायगत जिम्मेवारीमा दाहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुँदा फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानुनलाई परिमार्जन गरिनुपर्ने, प्राङ्गारिक मलको नमुना कारखाना खोल्न आवश्यक पहल गर्ने । आशा छ, बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट वातावरणमैत्री हुनेछ । यी माथिका कुराहरू कार्यान्वयन भएमा पक्कै पनि काठमाडौँं उपत्यका र देशका अन्य सहरको फोहोरमैला व्यवस्थापन प्रभावकारी भई नेपाली जनताको स्वास्थ्य गुणस्तरीय हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया