काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मल उत्पादन गर्ने उद्योग तथा कारखानालाई विद्युत्मा सहुलियत दिने बताएकी छिन् । नेपालमै मल कारखाना स्थापना गर्ने विषयमा कृषि मन्त्रालयमा सोमबार भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि जलविद्युत्को प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताइन् ।
मल कारखाना सञ्चालनको लागि मन्त्रालय आवश्यकताअनुसारको विद्युत् उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो । जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार रहेको उनले बताइन् । ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिति आउन नदिने विश्वास दिलाउँदै उनले विद्युत्मा सहुलियत दिनका लागि ऊर्जा मन्त्रालय तयार रहेको आश्वस्त पारिन् । ‘देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ’, उनले भनिन् । लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो । डलरमा खरिद गरेर ल्याइएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् । ‘हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नुअगाडि भावी पुस्ता, दिगो विकास लक्ष्य, विश्वसामु हामीले गरेका प्रतिबद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ’, उनले भनिन् ।
देशको आर्थिक विकासका लागि लगानी बोर्ड स्थापना भएको स्मरण गर्दै उनले सम्पूर्ण विश्व नै नवीकरणीय र स्वच्छ ऊर्जाको प्रयोगलाई बढाउँदै पेट्रोलियम पदार्थको कटौतीमा लागिरहेको उल्लेख गरिन् । उनले स्वच्छ ऊर्जा विद्युतलाई बाइपास गरेर अरू देशले निरुत्साहित गरेको प्रविधिमा जान नहुने बताउँदै त्यसतर्फ लगानी बोर्ड गम्भीर हुनुपर्ने बताइन् । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले मल खादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मल अभावको राष्ट्रिय समस्यालाई हल गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले विद्युत् उत्पादनबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने जनाउँदै लागतको विषयमा पनि छलफल गर्नुपर्ने बताए । उनले भने, ‘सातवटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्ने गरी अगाडि बढ्नुपर्छ ।’ उनले चाँडोभन्दा चाँडो नेपालमा मल कारखाना स्थापना गरेर कृषकलाई आश्वस्त तुल्याउनुपर्नेमा जोड दिए ।
छलफलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाका लागि पनि मल कारखाना स्थापना महत्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए । उनले भने, ‘दूरगामी हिसाबले पनि जलविद्युत् नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविष्यका लागि पनि यो नै उपयुक्त हुन्छ ।’ नेपालमै मल कारखाना स्थापना गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया