ज्वाइँ जागिरे रहेको हिमालयन रिमा अर्थमन्त्री शर्माले गरिदिए साढे छ अर्बको व्यापार सुनिश्चित
काठमाडौं । वर्तमान शेरबहादुर देउवा सरकारको पालामा सबैभन्दा ठूलो घोटालाको रुपमा हेरिएको हिमालयन रि इन्स्योरेन्सको काण्डमा नयाँ–नयाँ तथ्यहरु खुल्नथालेका छन् । सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको व्यापार खोसेर निजी लगानीको हिमालयन रिमा व्यापार दिन बीमा समितिलाई दबाब दिएका अर्थमन्त्री जनार्दन शर्माले हिमालयन रिमा आफ्नो छोरी ज्वाइँ आलोक राणालाई नियुक्ति दिलाएको खुलेको छ ।
अर्थमन्त्री शर्माले गत वैशाख २८ र जेठ ५ गते बीमा समितिका सञ्चालक तथा अध्यक्षलाई दबाब दिएर साढे छ अर्बको व्यापार सरकारी लगानीको कम्पनीबाट निजी लगानीको हिमालयन रिमा जान बाध्य पार्ने निर्णय गर्न बाध्य पार्नुको पछाडि आफ्ना ज्वाइँ राणाको नियुक्तिसँग समेत सम्बन्ध रहेको चर्चा चलेको छ । अर्थमन्त्री शर्माको निर्देशनमा पछिल्लो १० दिनमा बीमा समितिले गरेको दुई निर्णयबाट हिमालयन रिलाई वार्षिक साढे छ अर्बको नाफा सुनिश्चित भएको छ ।
हिमालयन रि इन्स्योरेन्स कम्पनी उच्च स्रोतले आलोक राणा आफ्नो कम्पनीमा कार्यरत रहेको पुष्टि गरेको छ । चितवन घर भएका उनी कार्यालय कमै मात्र जाने गरेको भए पनि मार्केटिङको काममा सघाउने गरेको स्रोतको दाबी छ । आर्थिक दैनिकले प्राप्त गरेको सूचनामा हिमालयन रिका सञ्चालकहरुले अर्थमन्त्री शर्मालाई उनकै ज्वाइँ राणालाई जागिर दिएर प्रभावित बनाई अर्बौँ रुपैयाँ फाइदा हुने निर्णय गराएका हुन् । मन्त्रीका ज्वाइँ राणा हिमालयन रि इन्स्योरेन्स कम्पनीमा केही महिनाअघि मात्रै नियुक्त भएका थिए भने उनले सो कम्पनीबाट तलब बुझ्न थालिसकेका छन् ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई तत्कालीन उद्योग राज्यमन्त्री मोतिलाल दुगडको सक्रियतामा तीन अर्बभन्दा बढी घुस सेटिङमा लाइसेन्स लिएको भनिएको सो कम्पनीले अहिले अर्थमन्त्री शर्मालाई समेत आफ्नो पन्जामा पारेर नेपाल सरकारको लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको अर्बौँ रुपैयाँको व्यवसाय खोस्न सफल भएको हो ।
अर्थमन्त्रीको दबाबपछि बीमा समितिले हिमालयन रिको लागि बीमाको सर्वव्यापी सिद्धान्तलाई समेत उल्लंघन गरेर पुनर्बीमा कारोबारलाई स्थानीयकरण गर्न गत वैशाख २८ गते निर्देशन दिएका थिए । बीमा समितिलाई अन्तर्राष्ट्रिय बीमक महासंघले पुनर्बीमा कारोबार स्थानीयकरण गर्नु बीमाको सर्वव्यापी सिद्धान्त र अन्तर्राष्ट्रिय नियामक निकायको मापदण्डविपरीत भएको भन्दै पत्र लेखिसकेको छ ।
मन्त्री शर्माले आफ्नै भाइ अनिल शर्मालाई अघि सारेर करोडौँ रकम सेटिङमा नेपाल पुनर्बीमाको व्यवसाय खोसी हिमालयन रिलाई दिने निर्णय हुँदै गरेको समाचार यसअघि आर्थिक दैनिकले प्रकाशित गरेको थियो ।
उच्च तहका व्यक्तिहरुको संलग्नतामा सरकारी कम्पनीको व्यापार खोस्ने र निजी कम्पनीलाई दिने सेटिङ हुँदै गरेको समाचार प्रकाशित हुँदा समेत हतार हतार बीमा समितिबाट निर्णय पारित गराई लागू गरिएको हो । यसअघि ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाएर ‘उज्यालोका नायक’ भनेर चर्चा कमाएका अर्थमन्त्री शर्मा यस पटक अर्थमन्त्री बन्दा भने कमाउधन्दामा लागी आफ्नो उच्च छवि हिमालयन रि इन्स्योरेन्सकै कारण धमिल्याउन समेत तयार हुनुले यसमा ठूलै रकमको चलखेल रहेको चर्चा अर्थ मन्त्रालयमै चलिरहेको छ ।
नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई आफ्नै छोरीको खातामा पाँच लाख रुपैयाँ जम्मा गराएको प्रमाणको आधारमा बर्खास्त गर्ने अर्थमन्त्री शर्मा सरकारी लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीको अर्बौँ रुपैयाँको व्यापार खोसेर निजी कम्पनी हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिले गरेको निर्णयमा मौन रहनुले पनि उनको संलग्नतालाई थप पुष्टि गराएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया