Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसम्पत्ति शुद्धीकरणमा उदासिनता

सम्पत्ति शुद्धीकरणमा उदासिनता


सम्पत्ति शुद्धीकरण हाम्रो देशको मात्र चिन्ता र चासोको विषय नभएर यो विश्वव्यापी अभियान हो । तर पनि यसलाई आफ्नो पनि अभियान बनाउने काम हाम्रो मुलुकमा हुन सकेको छैन । हाम्रो मुलुकमा धन जम्मा गर्ने होडबाजी छ । र त्यो धन पनि कालो हुन्छ र भन्ने मानसिकता व्याप्त छ । खासगरी सत्ता र शक्तिको पहुँचवालाहरू यसरी पनि धन जम्मा गर्ने एक सूत्रीय अभियानमा लागेका छन् ।

हरेक मुलुकमा कालोधनलाई वर्जित गरिएको हुन्छ । कालोधन खासगरी कानुनसम्मत किसिमले कारोबार गरेर पनि कर नतिरेको वा कारोबार नै गलत गरेर आर्जन गरेको यस्तो कि लागूऔषधको कारोबार, चेलिबेटी बेचबिखन, हातहतियारको कारोबार आदिबाट जम्मा गरेको धन पर्दछ । हाम्रोजस्तो आन्तरिक युद्धबाट गुज्रिएको मुलुकमा यी दुवै तरिकाबाट जम्मा गरिएको कालोधन नै समाजमा व्यापकरूपमा रहेको पाइएको छ ।

माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेपछि यसरी अवैधरूपमा रकम जम्मा गर्ने व्यक्तिहरूमध्येका धेरै व्यक्ति अहिले राष्ट्रिय पुँजीपतिका रूपमा उभिएका छन् । सत्ता र शक्तिको आडमा कर नतिरेर धनीहरू यहाँ जताततै भेटिन्छन् । यहाँसम्म कि नक्कली भ्याटबिल प्रयोग गरेर कर नतिरिकन धनी भएका व्यक्तिहरूमाथि सरकारले छानबिन गरेर पनि कारबाही नगरी प्रतिवेदन थन्काएर राखिएको छ । नक्कली भ्याटबिल प्रयोग गरेका आरोपीहरूलाई सर्वोच्च अदालतले बिगो कायम गरी रकम उठाउन निर्देशन दिए पनि त्यस्ता कारोबारीमाथि कुनै कारबाही नगरी उन्मुक्ति दिएको छ ।

यसको अर्थ कालोधनको राज्यका सबै अंगसम्म पुगिसकेको छ । नेकपाको दुई तिहाइ बहुमतको सरकार गठन भएपछि सम्पत्ति शुद्धीकरण विभागलाई अर्थ मन्त्रालयबाट झिकेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राखेपछि सम्पत्ति शुद्धीकरणमा ठोस कदम चालिने अपेक्षा गरिएको थियो । तर, अस्वस्थताका कारण भनौँ प्रधानमन्त्रीले धेरै समय दिन नसकेपछि सम्पत्ति शुद्धीकरण विभागका हर्ताकर्तालाई कालोधन छानबिन गर्ने नाममा कालोधन जम्मा गर्ने अवसर मिलेको छ । मुलुकमा द्वन्द्वका कारण बन्द भएका उद्योग खुलेका छैनन् । उद्योग व्यवसायी बैंकको किस्ता तिर्न नसक्ने अवस्थामा छन् तर कालोधनका पारखीहरू दिनप्रतिदिन मालामाल हुँदै गएका छन् ।

हिजोका दलाल अहिले लाल दलालमा परिणत भएका छन् । बिचौलिया, कमिशनखोर र अवैध कारोबारीहरूको जगजगी बढ्दै गएको छ । यहीभित्र प्रचुर मात्रमा कालोधन सिर्जना भएको मात्र होइन मुलुकबाहिरबाट खुलेआम कालोधन ल्याएर रातारात धनी हुनेहरूको संख्या पनि कम छैन । यहाँको अवैध धन विदेश घुमाएर वैध बनाउन प्रयास गर्नेहरू पनि प्रशस्तै छन् । हात हतियार र गोली गठ्ठाको कारोबारको कमाइ मात्र होइन, ठेक्कापट्टा र सामान खरीदका कमिशनदेखि भ्रष्टाचारका रकमलाई समाजमा फैलाएर दूषित बनाइएको छ । यहाँको कालोधन यहाँ मात्र होइन, विदेशमा समेत थुपारिएको छ । विदेशको कालोधन यहाँ सत्ता सहयोगमा सजिलै भित्र्याइएका पनि छ ।

नेपाल अहिले एउटा कालोधनको पोकोजस्तो बनेको छ । कालोधनवालाहरूको अगाडि सफेद धनवालाको कुनै अर्थ देखिँदैन । सर्वत्र कालोधनको बिगबिगी छ । यस्तो देख्दादेख्दै पनि त्यसमाथि निर्मम छानबिन गर्न र त्यसलाई शुद्धीकरण गर्न सरकार उदासिन देखिएको छ । यो उदासिनता हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकताले ग्रसित भएका कारण पनि हुन सक्दछ, आफू र आफ्नालाई जोगाउन पनि हुन सक्दछ तर जसरी पनि कालो–सेतो जे भए पनि धन थुपार्ने र धनी हुने होडबाजीमा भएको यो कालोधनको कारोबार विश्वव्यापी कारबाहीको चेनबाट उम्किनचाहिँ सक्ने छैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया