काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले राससलाई जानकारी दिए।
उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
को हुन् उपराष्ट्रपति यादव
स्वच्छ तथा इमान्दार राजनीतिज्ञको छवि बनाएका उपराष्ट्रपति यादव यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्रीसमेत थिए ।
यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व. प्रसाद राय यादव र आमा स्व. सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उनका दुई दाजुभाइ तथा तीन दिदीबहिनी छन् । साथै श्रीमती, दुई छोरा र एक छोरी छन् ।
उनी विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव भएका थिए । यादव गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् । उनी यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
भारतको सीतामढी कलेजबाट विज्ञान विषयमा स्नातक र ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जबाट शिक्षा सङ्कायमा स्नातक अध्ययन गरेका यादवको प्राथमिक शिक्षा आफ्नै गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बसवरियाबाट सुरु भएको थियो ।
नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी उच्च शिक्षा लिइ भारतको सीतामढीबाट बिएससी अध्ययन गरी फर्किंदा नेपालमा २०४६ सालको आन्दोलन सुरु भइसकेको थियो । उक्त समयमा तराई मधेसका मुद्दामा नेपाल सद्भावना पार्टीले काम गरिरहेको विषय जानकारी पाएपछि उहाँ २०४७ सालमा सद्भावना पार्टीमा प्रवेश गरेका हुन् ।
यादव २०५९ सालमा मधेसी जनाधिकार फोरममा आबद्ध भएका हुन् । त्यसपछि उनी २०६४ सालमा पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सदस्य भएका थिए भने विसं २०६५ मा उहाँ पार्टी महासचिव भए ।
उनी विसं २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठित जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति सदस्य भएका थिए । विसं २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया