Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त

सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त


घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । हाडबासमा आइतबार आगलागी हुँदा २४ घर र १० गोठ जलेका थिए ।

मन्त्री शर्माले सो घटनाप्रति दुःख व्यक्त गर्दै पीडाको क्षणमा घरबारविहीन पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि जुट्न सबैलाई आह्वान गरेकी छिन् । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा मन्त्री शर्मा निर्वाचित भएकी हुन् ।

आगलागी र डढेलोका घटना गर्मीयाम सुरु भएसँगै बढिरहेको, दिनहुँ जनधनको क्षति भइरहेको र नागरिकका घर, पशुपन्छीलगायतका निजी सम्पत्ति, अन्नबालीसहित वन जङ्गल तथा जैविक विविधतामा क्षति पुगिरहेको उल्लेख गर्दै मन्त्री शर्माले सबै पक्षलाई गम्भीर हुन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेकी छन् ।

नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट तत्काल आगलागी र डढेलो नियन्त्रण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिइसकेको मन्त्री शर्माले उल्लेख गरिन्् । क्षति न्यूनीकरणमा सुरक्षाकर्मीसहित तीनै तहका सरकारले गम्भीतापूर्वक काम गरिरहेको उनको भनाइ छ ।

मन्त्री शर्माले आगलागी तथा डढेलोको जोखिम कायमै रहेकाले उच्च सतर्कता र सावधानी अपनाउँदै क्षति न्यूनीकरणमा जुट्न सबैमा अनुरोध गरेकी छिन् । आगलागी र डढेलोबाट थप क्षति हुन नदिन सचेतनामूलक अभियान सञ्चालन गर्न समेत उनले आम सञ्चारका माध्यमसहित सबैलाई आग्रह गरेकी छिन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया