Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिमिलन सहकारीमाथि छानबिन गर्न आलटाल

मिलन सहकारीमाथि छानबिन गर्न आलटाल


काठमाडौं । सर्वसाधारणको बचतलाई आफ्नो व्यक्तिगत सम्पत्ति आर्जनमा लगाएर सहकारीलाई समस्यामा पु-याउने काठमाडौंको न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालकहरूलाई कारबाही गर्न आलटाल गरिएको छ ।

करिब १६ सय बचतकर्ताको अर्बभन्दा बढी बचत रहेको सहकारीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ, सीईओ दिनेशबज्र बज्राचार्य तथा कर्जा शाखाप्रमुख अनिल तुलाधारले संस्थामा बचत रहेको सर्वसाधारणको बचत हिनामिना गरेर संस्थालाई धराशायी बनाएको र संस्थामा बचत फिर्ता लिनेहरूको लामो लाइन रहेको समाचार बाहिरिएपछि पनि सहकारी विभाग गुपचुप बसेको छ ।

सहकारीहरू नीतिनियममा भए÷नभएको रेखदेख गरेर सहकारीमा हुने आर्थिक अनियमितता रोक्ने दायित्व बोकेको सहकारी विभाग सहकारीका सञ्चालकहरूले खुलेआम हिनामिना गरेको समाचारहरू बाहिरिँदा समेत मौन देखिनु आफैँमा अर्थपूर्ण रहेको छ ।

अर्बौँको कारोबार गर्ने भए पनि बागमती प्रदेश संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी विभागअन्तर्गत पर्ने मिलन सहकारीको विषयमा कुरा गर्न मन्त्रालयमा सचिव गोविन्दप्रसाद रिजाललाई सम्पर्क गर्दा उनको मोबाइल ‘स्विच अफ’ थियो भने प्रवक्ता उत्तम चापागाईसँग सम्पर्क हुन सकेन ।

मिलन सहकारीमा पैसा राख्न एक समयमा स्थानीय नेवारहरूको प्रतिस्पर्धा नै हुनेगरेको थियो । स्थानीय नेवारहरूले विश्वास गरेर राखेको बचतलाई हिनामिना गरेर संस्थालाई संकटमा लानको लागि सहकारीका कर्जा विभागप्रमुख अनिल तुलाधारको मुख्य भूमिका रहेको र उनीमाथि छानबिन हुनुपर्ने बचतकर्ताहरूले बताउँदै आएका छन् । चप्पल लगाएर सहकारीमा छिरेका अनिल तुलाधार सहकारीमा आउनुअघि नै आफूलाई रैथाने र पुँजीपति भएको बताउँदै हिँड्ने गरेका छन् । तर, देख्नेहरू भने उनलाई हात्तीछाप भन्दै हिँड्ने गरेका छन् ।

सहकारीमा आएपछि जीवनस्तर नै फरक बनाएर हिँडेका अनिल तुलाधारले सहकारीको अधिकांश कर्जा आफ्ना मान्छे र आफ्नो अनुकूल हुनेगरी मात्रै प्रवाह गर्नेगरेको बचतकर्ताहरूको आरोप लाग्ने गरेको छ । त्यसो त सहकारीमा पैसा भएर समेत नपाएर उपचार समेत गर्न नपाएका पीडितहरूले सहकारीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ, सीईओ दिनेशबज्र बज्राचार्य तथा कर्जाप्रमुख अनिल तुलाधारविरुद्ध उजुरी दिने तयारीमा रहेको स्रोतले बतायो ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया