Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिखेर गएको पाखोमा अलैँची खेती

खेर गएको पाखोमा अलैँची खेती


सुशीला रेग्मी
रामपुर, जेठ ३२
निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन् । उनले सो पाखाकोे १५ रोपनी जग्गामा अलैँची लगाएका छन् । तीन वर्षयता उत्पादन सुरु भइसकेको छ । उनले उत्पादनको पहिलो वर्ष १५ हजार रूपैयाँ र दोस्रो वर्ष एक लाख ५० हजार रूपैयाँको अलैँची बिक्री गर्न सफल भए । तेस्रो वर्ष (गत वर्ष) मौसम उपयुक्त नभएकाले उत्पादन कम हुँदा ५० हजार रूपैयाँ आम्दानी भएको छ । यो वर्ष करिब दुई क्वीन्टल उत्पादन हुने उनको अनुमान छ । ‘खेती गर्ने तरिका जानेमा खेर गएका पाखो जग्गा पनि पैसा फल्ने हुँदोरहेछ, वर्षेनी पाँच सयदेखि छ सयसम्म बिरुवा थप गर्दै गइरहेको छु’, बयम्बुले भने । बिरुवा लगाइएको एकदेखि डेढ वर्षपछि मात्रै उत्पादन लिन सकिन्छ ।

छ वर्षअघि इलाम भ्रमणमा गएका बेला एक विरुवा ल्याएर खेती सुरु गरेका बयम्बु नै त्यस क्षेत्रमा अलैँचीको खेती सुरु गर्ने पहिलो व्यक्ति हुन् । यस क्षेत्रमा अलैँचीको व्यावसायिक खेतीबारे यस अगाडि कसैलाई जानकारी थिएन । बयम्बुले लगाएको अलैँचीले चर्चा पाएपछि गाउँपालिकाले पकेट क्षेत्रका रूपमा विस्तार गर्न थालेको छ । गाउँका करिब एक सय ५० रोपनी क्षेत्रफल अलैँचीले भरिँदा गाउँको वातावरण नै हरियालीमय बनेको अलैँची पकेटक्षेत्र विस्तार कार्यक्रमका अध्यक्ष मानुराज खाम्चाले बताए । गाउँपालिकाको सहयोगमा यहाँका ७५ घरपरिवारले व्यावसायिक रूपमा अलैँची खेती गर्न थालेका छन् । आठ रोपनीमा अलैँची खेती गरेका खाम्चाले अझै सात रोपनी जग्गामा विस्तार गर्ने योजना रहेको बताए । गाउँपालिकाले अलैँची पकेट क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत चालू आवमा एक लाख ८७ हजार पाँच सय सहयोग गरेको छ । सो रकम अलैँचीको बिरुवा, प्लाष्ट्रिक स्पेयर, विषादी, अलैँची सुकाउने भट्टी र फल काट्ने कैँची खरिदमा खर्च गरिने भएको छ ।

पन्ध्र हजार अलैँचीका बिरुवा खरिद गरी कृषकलाई वितरण गर्ने कार्यक्रम रहे पनि बन्दाबन्दीले लमजुङको भोटेओडारबाट बिरुवा खरिद गरेर ल्याउन समस्या परेको कृषि शाखा प्रमुख खिमराज कोइराला बताउँछन् । उनले भने, ‘एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत यस क्षेत्रलाई पकेट क्षेत्रका रूपमा विस्तार गर्न थालिएको छ, खेती गर्न छाडिएका प्रशस्त पाखोबारी रहेको जग्गामा कृषकले अहिले अलैँची लगाएर हरियाली बनाएका छन् ।’ यहाँ उत्पादित अलैँची कृषकले प्रतिकिलो छ सय रूपैयाँ मूल्यमा बिक्री गरेका छन् । अलैँची खेती सुरुआती चरणमा भएकाले गत भदौअसोजमा यहाँका कृषक एक क्वीन्टल ५० किलो उत्पादन गरी बजारमा बिक्री गर्न सफल भएका छन् । गाउँपालिकाले दुई सय रोपनी क्षेत्रफलमा अलैँची विस्तार गर्ने योजना बनाएको छ । यहाँ उत्पादित अलैँची नवलपरासीको अरुणखोला बजारमा खपत भएको छ । यसको बजार भारतलगायत अरब पनि हो ।

जिल्लामा हाल अलैँचीको झिरुवास, खाँदर क्षेत्रमा मात्र व्यावसायिक खेती गरिएको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए । उनका अनुसार व्यावसायिक खेती गर्ने गरी कृषकबाट माग आएमा साझेदारीका कार्यक्रम सञ्चालन गरिने छ । दुई दशक अगाडि साबिक कसेनी गाउँ विकास समिति बलेसका कृषकले अलँैची खेतीबाट आम्दानी गरेका थिए । त्यस समय धेरै कृषकको आम्दानीको स्रोत नै अलँैची खेती थियो । एक घरपरिवारले तीनदेखि पाँच क्विन्टलसम्म अलैँची उत्पादन गर्थे । अहिले निस्दी गाउँपालिकाले पकेटक्षेत्र विस्तार कार्यक्रमअन्र्तगत खाँदर क्षेत्रलाई अलैँचीको व्यावसायिक रूपमा खेती गर्न सहयोग गरेपछि कृषकको आकर्षण बढ्दो छ । अलैँची लगाउँदा खेतबारी मास्नु नपर्ने, भुइँ–डालेघाँसलगायत बोटबिरुवालाई असर नगर्ने, सामान्य गोडमेल– मलखाद– रेखदेख गरे पुग्ने, भाउ तलमाथि भए पनि सजिलै बिक्री हुने कारणले कृषकले व्यावसायिक खेती गरेर मनग्य आम्दानी लिन सक्ने जनाइएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया