Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिव्यावसायिक कृषिबाट रोजगारी सृजना गर्ने योजनामा कञ्चन

व्यावसायिक कृषिबाट रोजगारी सृजना गर्ने योजनामा कञ्चन


पोसकान्त पोखरेल
बुटवल, असार १०
रूपन्देहीका १६ वटा स्थानीय तहहरूमध्येको एक स्थानीय तह हो कञ्चन गाउँपालिका रूपन्देही । संघीयता कार्यान्वयनसँगै सुरु देखि हालसम्म गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका कृष्णप्रसाद पन्थीलगायतका मिहिनेती राष्ट्रसेवक कर्मचारी र लगनशील जनप्रतिनिधिका कारण गाउँपालिकाले दिन प्रतिदिन विकासमा गति लिँदै गएको छ । जसको कारणले गाउँपालिकामा विभिन्न प्रकारका रोजगार तथा स्वरोजगारीका वातावरण सृजना हुँदै गएको पाइन्छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा कृषि तथा पशु विकासका कार्यक्रममार्फत बेरोजगारलाई स्वरोजगार बनाउँदै रोजगारीका अवसरहरू सृजना हुने व्यावसायिक कृषि प्रणालीलाई आत्मसात् गर्दै अगाडि बढेको गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले उद्घोष गरेका छन् । नीति तथा कार्यक्रममार्फत अध्यक्ष क्षेत्रीले कृषि तथा पशुपालन व्यवसायलाई विशेष प्राथमिकता दिई विभिन्न अनुदान कार्यक्रमहरूका साथै दूध र कुुखुरापालनका लागि उत्पादनमा आधारित अनुदान दिइने जनाएका छन् । उनले संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा विशेष कृषि प्याकेज कार्यक्रम सञ्चालन गरिने गर्दै कृषिमा कृषकको आकर्षण बढाउँदै लैजाने योजना रहेको बताएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले कृषि क्षेत्रमा गाउँपालिकाले क्रमशः फड्को मार्दै गएको बताए । उनले तरकारी, दूध, मासु, अन्नबालीलगायतका उत्पादनमा गाउँपालिका पूर्णरूपमा आत्मनिर्भर भई वार्षिक २०/२५ करोड रूपैयाँको निर्यात गर्ने गरेको बताए । उनले आगामी आर्थिक वर्ष २०७७/७८ मा ४० प्रतिशत बजेट कृषि विकासको लागि लगाउने तयारी भैरहेको बताउँदै कोरोना भाइरस संक्रमणको त्रासमा रोजगारी गुमाएका कञ्चनबासीहरूको लागि रोजगारी सृजना गर्ने प्रकृतिको कृषि व्यवस्था लागू गरिने बताए ।

हाल कोरोना भाइरसको कारण नोक्सानी बेहोरेका कृषिमा निर्भर कृषकहरूलाई प्रतिपरिवार २० हजार रूपैयाँ उपलब्ध गराएको बताउँदै अधिकृत पन्थीले कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिको लागि विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याएको बताए ।

लागत मूल्य घटाउन यान्त्रीकरणमा जोड दिएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले बीउबिजनको उचित प्रबन्ध, मलखादको सहज व्यावस्था, पम्पसेट वितरण, सिँचाइका नहरहरू मर्मत, व्यावसायिक कृषकलाई विभिन्न प्रोत्साहन, उपलब्धिपूर्ण तालिमहरूलगायतका विभिन्न कृषिसम्बन्धी कार्यक्रमहरू गर्दै आएको बताए । मेवालगायत अन्य हावापानीअनुसारको फलफूल खेतीको लागि आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रमहरू ल्याएको बताउँदै कृषिसँगै स्वास्थ्य, शिक्षा, पूर्वाधार विकासका विभिन्न योजनाहरू कार्यान्वयनमा ल्याउने तयारी भएको बताए । ‘सबल कञ्चन हाम्रो अभियान’ गाउँपालिकाको मूलमन्त्र भएको बताउँदै पन्थीले त्यसलाई आत्मसात् गर्दै सोहीअनुसार चौतर्फी क्षेत्रका योजनाहरू कार्यान्वयनमा ल्याएको बताए ।

पन्थीले भने, ‘समयको मागअनुसार गाउँपालिकामा विकासले गति लिनुपर्छ । साना–साना कुराहरूमा जनताले दुःख पाउनु हुँदैन । साना–साना योजनाहरूसँगै ठूला योजनाहरू पनि कार्यान्वयन गर्दै जाँदा समृद्धि प्राप्त गर्न सकिन्छ । आ–आफ्नो क्षेत्रबाट सबैले सक्दो प्रयास गरेर उत्पादनमा ध्यान दियौँ भने कृषि क्षेत्रमा आत्मनिर्भर बन्न एक वर्षभन्दा बढी लाग्दैन । कृषिमा आत्मनिर्भर भयाँै भने वार्षिक खर्बौंको विदशी राष्ट्रसँगको व्यापारघाटा कम गर्न सकिन्छ । त्यसैले जसलाई जहाँ उपयुक्त छ त्यहाँ सक्दो कृषि उत्पादन गर्नेतर्फ अग्रसर हुनु पर्दछ ।’

अहिले कोरोना भाइरसको कारण धेरैले आफ्नै घरमा तरकारी उत्पादन गरेका विभिन्न पोष्टहरू सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ । पछिको सामान्य अवस्थामा पनि दिनमा एकआध घण्टा समय निकालेर कृषिमा ध्यान दिए अहिलेको फुर्सदिलो समयमा गरेको उत्पादन त्यो बेला पनि गर्न सकिन्छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया