Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिएक सय ५७ जना किसानले गराए माटो परीक्षण

एक सय ५७ जना किसानले गराए माटो परीक्षण


महेन्द्र शाही
सोलुखुम्बु, असार १०
आर्थिक वर्ष २०७६/०७७ मा सोलुदूधकुण्ड नगरपालिकाभित्रका एक सय ५७ जना कृषकले माटो परीक्षण गराएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बु र सोलुदूधकुण्ड नगरपालिका कृषि शाखाको संयुक्त आयोजनामा माटो परीक्षण शिविर कार्यक्रमअन्र्तगत चालू आर्थिक वर्षमा कृषकहरूले माटो परीक्षण गराएका हुन् । २०७६ फागुन ११ गते सल्लेरीको नयाँबजारमा आयोजित शिविरमा ६३ जना कृषकहरूले माटो परीक्षण गराएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख कुलबहादुर राईले जानकारी दिए । उनका अनुसार फागुन १२ गते सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लामा आयोजित शिविरमा ९४ जना कृषकले माटो परीक्षण गराएका छन् ।

कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार सोलुखुम्बुका ७० प्रतिशत कृषकहरू माटो परीक्षणबारे जानकार भएको पाइएको छ । अहिले आठवटै स्थानीय तहमा कृषि शाखा स्थापना भएको कारण कृषकहरूलाई सल्लाह सुझाव लिनको लागि सहजता भएसँगै कृषकहरूमा माटो परीक्षणबारे जानकारी भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । बिरुवालाई चाहिने खाद्यपदार्थ र पोषक तत्वको पहिचान गर्नको लागि अनिवार्य माटोको परीक्षण गर्नुपर्ने निमित्त प्रमुख राईको भनाइ छ । बालि लगाउनभन्दा अगाडि कृषकहरूले माटो परीक्षण गराउन सकेको खण्डमा राम्रो उत्पादन लिन सकिने कृषि विज्ञहरूको भनाइ छ । यस्तै सोलुखुम्बुमा रासायनिक मलभन्दा प्राङ्गारिक मल प्रयोग गर्ने कृषकहरूको संख्यामा वृद्धि हुँदै गएको पनि निमित्त प्रमुख कुलबहादुर राईले जानकारी दिए ।

रासायनिक मलको बढी प्रयोगले माटोको भौतिक गुण बिग्रिँदै जाने भएका कारण कृषकहरूले प्राङ्गारिक मलको प्रयोगलाई बढावा दिन थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । रासायनिक मलको प्रयोगले २–३ वर्ष राम्रो उत्पादन लिन सकिए पनि त्यसपश्चात् माटोको उर्वराशक्ति हराउँदै जाने भएको कारण प्राङ्गारिक मलको प्रयोग बढाउनको लागि आफूहरूले दिएको सुझावलाई कृषकहरूले व्यवहारमा लागू गरेको निमित्त प्रमुख राईको भनाइ छ । साथै गोठेमलको प्रयोगले बारीको उर्वराशक्ति बढाउने र स्वास्थ्यको लागि पनि फाइदाजनक हुने भएकाले प्राङ्गारिक मलको प्रयोगमा जोड दिनुपर्ने उनको सुझाव छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया