Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषितरकारीबाटै मासिक ९० हजार आम्दानी

तरकारीबाटै मासिक ९० हजार आम्दानी


आशिष बहादुर सिंह
बझाङ, साउन २८
बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नः २ बस्ने वर्ष ४५ का गणेश खड्काले तरकारी खेतीबाट नै मासिक ९० हजार आम्दानी गर्ने गरेका छन् । गाउँमै बसेर तरकारी खेतीबाट मनग्गे आम्दानी गरी बेरोजगारले झेल्नुपर्ने समस्याबाट खड्का मुक्त रहेका छन् ।

खड्काले तरकारी खेती र अन्य कमाइबाट गरेको आम्दानीले जल्लाको सदरमुकाम चैनपुरमा दुईतले घर पनि जोडेका छन् । पैसा कमाउनलाई विदेश नै जानुपर्छ भन्ने युवाका लागि नेपालमा नै केही गर्न सकिन्छ भन्ने पाठ सिकाउनका लागि पनि गाउँमै बसेर तरकारी खेती गर्ने गरेको उनको भनाइ छ । सानैदेखि व्यवसाय गर्नुपर्छ भन्ने सोच भए पनि सुरुमा मेकानिक बनेर सदरमुकाम चैनपुरमा घडी रेडियाकोे पसल खोलेर लामो समयसम्म काम गरेको उनले बताए ।

अहिले खड्काको जीवन रातदिन नै तरकारी खेतीमै बितेको छ । तरकारी खेती गर्नका लागि आफूले कुनै पनि सरकारी निकायबाट सहयोग नपाएका खड्काले बताए । ‘वास्तविक कृषकले अनुदान पाएको छैनन्, काम नगर्नेहरूले अनुदान दिएका छन्’, उनी भन्छन् । यो समस्या खड्काको मात्र होइन, सबै वास्तविक कृषकको समस्या नै यस्तै रहेको कृषक करन सिंहले बताए ।

खड्काले आफ्नो बारीको फोटो खिचेर कयौँले अनुदान लिएको बताए । उनी भन्छन्, ‘अनुदान लिनेहरूका घरमा तरकारी किनेर खान्छन्, कागजी प्रक्रिया पु¥याई बजेट खानेको संख्या हाम्रो समाजमा कम छैन ।’ अरुले गरेको प्रगति देख्न सक्ने समाजको निर्माण अझै हुन नसकेको उनको भनाइ छ । ‘आफूले व्यवसाय गरेको देखेर अरुले पनि सोही काम गरे हुन्थ्यो भन्ने लाग्छ, तर उनीहरू व्यवसाय गर्नुको सट्टा उल्टै मेरो बारीका टनेलभित्रका बेर्ना चोर्ने, तरकारी नष्ट गर्ने गरेको देख्दा दिक्क लाग्छ’, उनी भन्छन् ।

नागरिक समाजका अगुवा धर्मजङ सिंहले जिल्लामा कुनै पनि स्थानीय तहले वास्तविक किसानको पहिचान नै नगरी काम नहेरी मुख हेरेर अनुदान दिँदा वास्तविक किसानका समस्या उस्तै रहेको बताए । आउँदा दिनमा स्थानीय तहबाट नीतिगत निर्णय गरी जनप्रतिनिधिले टोल बस्तीबाट नै पहिचान गरी कृषकलाई अनुदान दिन सके वास्तविक किसानलाई निकै राहत हुने उनको भनाइ छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया