Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकुखुरा बिक्री नहुँदा किसान चिन्तित

कुखुरा बिक्री नहुँदा किसान चिन्तित


सुबास बस्नेत
दोलखा, भदौ २१
लामो समय चलेको लकडाउनले फुर्सादिला बनेका युवाले गाउँमा कुखुरा व्यवसाय सुरु गरेका छन् । तर उनीहरूले पालेका कखुरा बिक्री गर्नको लागि भने समस्या गरेको छ । जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका करिब एक दर्जन युवाले लकडाउनको समयलाई सदुपयोग गर्दै कुखुरापालन व्यवसाय सुरु गरेका थिए । असारदेखि कुखुरा पालनमा लागेका उनीहरूले दुई महिनाको अवधिमा करिब आठ सय कुखुरा उत्पादन गरेका छन् ।

एक लाख ५० हजार लगानी गरेर एक महिनाअघिदेखि कुखुरापालनमा व्यस्त बनेका पाइलेका युवा विशाल बस्नेतले तीनदेखि चार केजी तौलका २ सयवटा कुखुरा उत्पादन गरेका छन् । तर बिक्री गर्न तयार भएको कुखुरा बिक्री गर्न नसक्दा समस्या परेको उनले बताए ।

दोलखामा गत तीन हप्तादेखि निषेधाज्ञा लागू भएपछि सवारीसाधन चल्न नसक्दा कुखुरा बिक्री गर्न थप समस्या भएको सोही गाउँका अर्का व्यवसायी राजु बस्नेतले बताए । खोरमा बिक्रीका लागि तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म पु¥याउन नसक्दा समस्या भएको उनले बताए । अहिले बजारमै पनि कुखुराको माग न्यून रहेको छ । कतिपय पसलेले कुखुरा बिक्री नहुँदा मासु पसल नै बन्द गर्नुपरेको बताएका छन् । बजारमा ब्वायलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ ।

गाउँबाट बाहिरी जिल्लामा कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको व्यवसायीहरूको गुनासो रहेको छ । एक/दुई हप्ताअघि जिउँदो कुखुराको मूल्य प्रतिकेजी तीन सय ९० रूपैयाँ रहेकोमा अहिले एक सय ९० रूपैयाँमा बेच्न पनि समस्या भएको बस्नेतले बताए ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरूमा गाउँघरमा उत्पादन भएका कुखुरा बजारसम्म ल्याउन समस्या भएको चरीकोटका मासु पसलेहरू बताउँछन् ।

कुखुरा व्यवसायी किसान बस्नेतका अनुसार ४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन । उनले भने, ‘कुखुरा र तरकारी एउटैजस्तै हो । लामो समयसम्म भण्डार गरेर राख्न मिल्दैन । अहिले मासु खपत हुने ठाँउ बन्दजस्तै छ ।’ वैतेश्वर गाउँपालिका विभिन्न गाउँमा व्यवसायी कुखुरा पालन गर्दै आएका अन्य धेरै किसान अहिले कुखुरा बिक्री नहुँदा आर्थिक समस्यामा परेको बताउँदै आएका छन् ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया