Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिपाँच तारा साकोसको नाफा दुई करोड ६२ लाख

पाँच तारा साकोसको नाफा दुई करोड ६२ लाख


काठमाडौं ।
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६।७७ मा दुई करोड ६२ लाख १५ हजार खुद मुनाफा आर्जन गरेको छ । मुनाफा अघिल्लो आव २०७५।७६ को भन्दा ६९ लाख छ हजार रूपैँयाले बढी रहेको संस्थाले जनाएको छ । संस्थाको १३औं वार्षिक साधारणसभामा संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७६।७७ को आर्थिक विवरण पेस गर्दै सेयर पुँजी छ करोड ३२ लाख २८ हजार रूपैयाँ, बचत संकलन ४१ करोड ६६ लाख ८७ हजार रूपैयाँ र ऋण लगानी ४६ करोड एक लाख २४ हजार रूपैयाँ पुगेको जानकारी दिए । संस्थाको कुल कारोबार ५९ करोड आठ लाख ७० हजार पुगेको छ ।

पुँजी फिर्ता कोषलाई योगदानको आधारमा ऋण लगानीमा ६० प्रतिशत र बचत योगदानमा ४० प्रतिशत हुनेगरी बाँडफाँड गर्नुपर्ने कानुनी व्यवस्था भए पनि संस्थाले पुँजी फिर्ता कोष कार्यविधि तयार गरिनसकेकाले सेयर अनुपातका आधारमा सक्रिय सदस्यहरूका लागि दामासाहीरूपमा बाँडफाँड गर्ने भएको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा नेफ्स्कुनका अध्यक्ष पौडेलले सहकारी क्षेत्र अब डिजिटाइजेसन र सर्भिस्टाइजेसनमा जाने बेला आएको बताए ।

कोभिडको प्रभाव बढेसँगै मुलुक आर्थिक मन्दीमा जानसक्ने संकेत देखिएकाले सदस्यहरूको आर्थिक स्तरलाई माथि उठाउन सहकारीहरूले व्यावसायिक निरन्तरता योजना तत्काल कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । नेफ्स्कुनले व्यवसाय प्रवद्र्धनका सन्दर्भमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कोषहरूसँग सहकार्य गरेर काम गरिरहेको र कोभिडका बीचमा सदस्यहरूको सामना शक्ति विकास गर्नेतर्फ केन्द्रित भएको उनले बताए ।

संस्थाका अध्यक्ष भोलानाथ पाठकले कोरोना भाइरस र लकडाउनका कारण आर्थिक समस्यामा परेका सदस्यहरूलाई राहत उपलब्ध गराउनेदेखि भोजन दानमा समेत संस्थाले सहभागिता जनाएको बताए । संस्थाले उद्यमशीलता विकासका लागि उद्यम विकास खाता सुरु गरेको र कृषि तथा महिला उद्यमी कर्जा सहुलियत दरमा लगानी गर्ने योजना अघि बढाएको अध्यक्ष पाठकले बताए ।

प्राकृतिक विपत्तिहरू आउँदा त्यसलाई व्यवस्थापन गर्न प्राकृतिक विपत्ति कोषको स्थापना गरेको र उक्त कोषमा हालसम्म सात लाख सात हजार ९१६ रूपैयाँ जम्मा भएको जानकारी उनले दिए । संस्थाले स्मार्ट मोबाइल बैंकिङ सेवा सञ्चालनमा ल्याइसकेको र निकट भविष्यमै एससीटी नेटवर्कमार्फत एटीएम सेवा सुरु गर्ने योजना रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया