Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिबाँकेमा धान खरिद गर्दै सहकारी, कम्पनीले अझै सुरु गरेन

बाँकेमा धान खरिद गर्दै सहकारी, कम्पनीले अझै सुरु गरेन


जिएम यादव
बाँके ।
सरकारले सहकारीलाई किसानको धान खरिदका लागि प्रोत्साहन गर्ने नीति लिएपछि बाँकेका ६ वटा सहकारीले धान खरिद प्रक्रिया अगाडि बढाएका छन् । सरकारले समयमै धान खरिद समर्थन मूल्य तोकेपछि उत्साहित किसानहरुको भावनाअनुसार धान खरिदका लागि सहकारीहरुले प्रक्रिया अगाडि बढाएका हुन् ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीका अनुसार सहकारी संघमार्फत किसानहरुको उत्पादनका आधारमा कम्तीमा ५० वटा सहकारीले सबै स्थानीय तहबाट धान खरिदको योजना बनाइएका हुन् । ‘एक लाख क्विन्टल धान खरिदको योजना बनाइएको छ’, सुवेदीले भने, ‘कतिपय प्राविधिक कारणले धेरै सहकारीले धान खरिद कार्य अगाडि बढाउन सकिरहेका छैनन् ।’

उनका अनुसार, कतिपय सहकारीले गोदाम घर निर्माण गरिरहेका छन् भने कतिपयले धान खरिदका लागि आवश्यक पर्ने नापजोखका उपकरणहरु खरिद कार्य अगाडि बढाएका छन् । एभरेष्ट कृषि सहकारी संस्था बैजनाथले बिहीबारसम्म ७ हजार क्विन्टल धान खरिद गरिसकेको जनाएको छ ।

‘सरकारले तोकेकै मूल्यमा सहकारीहरुले धान खरिद गरिरहेका छन’, संघका अध्यक्ष सुवेदीले भने । उनका अनुसार, साकार कृषि सहकारी संस्थाले १ हजार ५ सय क्विन्टल धान खरिद लक्ष्य राखेर खरिद कार्य अगाडि बढाएको छ भने साना किसान कृषि सहकारी संस्थाले २ हजार क्विन्टल खरिद गर्दै छ ।

खजुरा सहकारी संस्था लिमिटेडले ५ सय क्विन्टल बीउ धान खरिद गर्दै छ भने कोहलपुर सहकारी संस्था लिमिटेडले २ हजार क्विन्टल धान खरिद गर्ने जनाएको छ । ‘साना किसान कृषि सहकारी संस्था कम्दीले पनि धान खरिद प्रक्रिया अगाडि बढाएको छ’, अध्यक्ष सुवेदीले भने, ‘किसानहरुलाई पायक पर्ने ठाउँका सहकारी संस्थाहरुलाई धान खरिदका लागि प्रेरित गरिएको छ ।’

सरकारले यस बर्ष समयमै धानको समर्थन मूल्य तोकेपछि किसानहरु उत्साहित भएका थिए । मौसमअनुकूल भएपछि यस वर्ष बाँकेमा धानको उत्पादन पनि बढेको छ भने समयमै कटान पनि भएको छ । सरकारले यस वर्ष धानको समर्थन मूल्य २ हजार ७ सय ३५ देखि २ हजार ८ सय ८५ सम्म तोकिदिएको छ । तर, किसानहरुले ६ देखि ९ सय रुपैयाँसम्म कम मूल्यमा व्यापारीलाई बेच्न बाध्य भएको समाचार बाहिर आएपछि सहकारीहरुले सरकारले तोकेको मूल्यमा धान किन्न लागेका हुन् ।

सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगर्दा बाँकेका किसान सस्तो मूल्यमा धान खरिद गर्न बाध्य भएको बताउँछन् । सरकारको स्वामित्वमा रहेको खाद्य कम्पनीले देशभर ६० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेर एक अर्ब ७९ करोड ३१ लाख ५५ हजार बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया