Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकृषि प्राविधिकहरू किसानसँगै व्यस्त

कृषि प्राविधिकहरू किसानसँगै व्यस्त


केपी खनाल
गल्याङ, पुस २४
‘सुशील सर ! मेरो गाई बिरामी भयो’ अपरिचित मान्छेको फोन आएपछि गल्याङ नगरपालिका पशु शाखा प्रमुख सुशील अर्यालले प्रश्न गरे, ‘कुन ठाउँबाट को बोल्नुभयो ? गाइलाई के भएको थियो ? कहिलेदेखि ? हुन्छ, आधा घण्टामा हामी त्यहीँ आइपुग्छौँ ।’ गल्याङ नगरपालिका वडा नम्बर एक मालुङ्गाबाट फोन आएको रहेछ । पशुशाखा प्रमुख सुशील अर्यालले मात्रै दैनिक झण्डै दश जनाको यस्तै फोन उठाउने गर्छन् । सकेसम्म आफैँ पुग्ने र आफूले सम्भव नभए अन्य प्राविधिकको व्यवस्था गर्ने गरेको अर्यालले सुनाए । ‘सकेसम्म धेरै ठाउँमा पुगेर सेवा दिने गरेका छौंँ’ अर्यालले भने ।

नमुना बाख्रा गाउँ अभियानका अभियन्तासमेत रहेका अर्यालसँगै पशु शाखाका अन्य प्राविधिक पनि किसानका समस्या दैनिकरूपमा सुन्ने र समाधानमा लाग्ने गरेका छन् । कार्यालय समयमा मात्र नभई अन्य समयमा पनि प्राविधिकहरू किसानसँगै देखिने गरेको छ । ‘हामी जागीरका लागि मात्रै काम गरेका छैनौँ’ अर्यालले भने, ‘सकेसम्म धेरै किसानका समस्या समाधान गर्न रातदिन लाग्ने गरेका छौँ ।’

पशु शाखा मात्रै होइन, कृषि शाखा पनि किसानसँग यस्तै काममा व्यस्त हुने गरेको छ । कृषि शाखा प्रमुख शिव ढकाल भन्छन्, ‘कहिले बेमौसमी मकैमा किरा लागेको फोन आउँछ, कहिले बीउबिजन कहिले आउँछ भनेर ।’ दैनिक कम्तीम दशवटा फोन किसानका समस्या समाधान गर्नुपर्ने खालका आउने गरेको ढकालले बताए । गल्याङ नगरपालिका कृषि तथा पशु शाखाका प्रमुख तथा पदाधीकारी नै किसानको सेवामा खटिन थालेपछि समस्या समाधानका लागि बढी व्यस्त हुन परेको हो । गल्याङ नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्ययोजना अगाडि सारेपछि कृषि र पशु शाखाका प्रमुख तथा प्राविधिक कर्मचारीहरू पनि उत्तिकै व्यस्त बनेका छन् ।

तुरुन्तै किसान भएको ठाउँमा पुगेर सेवा दिइने गरे पछि कृषकहरूमा पनि उत्साह थपिएको छ । गल्याङ नगरपालिका वडा नम्बर ९ का सुन्दर भण्डारीले भने, ‘मकैमा रोग लागेको बारे जानकारी गराएपछि बारीमा आएर आफैँ औषधि छरेर जानुभयो । त्यसपछि मकै पनि हलक्कै राम्रो भयो ।’ उक्त ठाउँको मकैमा अमेरिकी फौजी किराको प्रकोप पहिचान गरी नियन्त्रणमा लिन सफल भएको कृषि शाखा प्रमुख ढकालले जानकारी दिए । सीमित स्रोत र साधन भए पनि कृषि प्राविधिकहरू भने किसानको गोठ र बारीमा पुगिरहेको उनको भनाइ छ ।

गल्याङ नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा दिँदै जिल्लाका अन्य पालिकाको तुलनामा दक्ष कृषि र पशु प्राविधिकहरूको व्यवस्था गरेको छ । पशु डाक्टर अनिस सापकोटा सरकारी निकायबाट नियुक्त हुने स्याङ्जा जिल्लाकै एकमात्र पशु डाक्टर हुन् । उनीसहित अनुभव प्राप्त पशु प्राविधिकहरूले काम गरिरहेका छन् । तर, किसानका समस्या तुरुन्तै समाधान गर्नका लागि अझै पर्याप्त नभएको प्राविधिकहरू बताउँछन् । सबै प्राविधिकहरू किसानको गोठ र बारीमा क्रियाशील हुँदा पनि कतिपय ठाउँमा भनेकै समयमा पुग्न कठिन हुने गरेको कृषि शाखा प्रमुख ढकालले बताए ।

अधिकांश गाउँले भरिएको गल्याङ नगरपालिकाका बस्तीहरूमा पुग्न भने धेरै कच्ची बाटोहरू पार गर्नुपर्ने बाध्यता प्राविधिकहरूलाई छ । सबै जसो ठाउँमा कच्ची बाटो पुगे पनि पानी परेको अवस्थामा किसानको समस्या समाधान गर्नका लागि पुग्न केही कठीन हुने गरेको कृषि तथा पशु प्राविधिकहरू बताउँछन् । समूहगतरूपमा कृषि व्यवसायमा लागेका किसानहरूले नगरपालिकाले कृषि क्षेत्रमा दिइरहेको अनुदानले आफूहरूलाई हौसला मिलेको बताउँछन् । प्राविधिकहरूको काम गराइले पनि अझै हौसला थपिएको गल्याङ नगरपालिका सात चोकका रामेश्वर भण्डारी बताउँछन् ।

नगरपालिकाले दुधमा प्रतिलिटर १५ रूपैयाँ अनुदान दिएपछि किसानहरूमा गाइ तथा भैंसीपालनमा आकर्षण बढेको छ । व्यावसायिकरूपमा पशुफाम दर्ता गरी सञ्चालन गर्नेहरू बढेका छन् । यस्तै तरकारी तथा मसलाजन्य पदार्थ बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिने नगरप्रमुख भुपराज अधिकारीको घोषणापछि पनि कृषि क्षेत्रमा किसानहरूको आकर्षण बढेको छ । नगरप्रमुख अधिकारी भन्छन्, ‘कृषि र पशु प्राविधिक आवश्यकताअनुसार अझै व्यवस्था गरेर किसानको अधिकतम सेवामा क्रियाशील रहन नगरपालिका प्रतिबद्व छ ।’ उनले कृषि क्षेत्रबाट आत्मनिर्भर बन्दै व्यवसायिकतामा जान सकेमा मात्रै परिवर्तन हुने भएकाले आफूले कृषिलाई प्राथमिकता दिएको बताए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले स्थानीयको जुनसुकै समस्या समाधानमा पनि कर्मचारीले जागिरेको व्यवहार गर्न नहुने बताए ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया