Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिअलैँचीको मूल्य बढे पनि किसानले पाएनन्

अलैँचीको मूल्य बढे पनि किसानले पाएनन्


फुड्.लिड. ।
ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट फाइदा लिन सकेका छैनन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्यवृद्धि भएको र त्यसको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।

विगत केही वर्ष अलैँचीको मूल्यमा निरन्तर गिरावट भएको थियो । यस वर्ष पनि अलैँची कारोबारको समयमा खासै मूल्य नआएको अर्थात् प्रतिमन (४० किलोग्राम) २२ देखि २५ हजार रूपैयाँसम्म भएको थियो । पछिल्लो चार÷पाँच वर्षयता मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिदबिक्री गरिसकेकाले हालको मूल्यवृद्धिको फाइदा लिनबाट उनीहरू वञ्चित भएका हुन् ।

अहिले अलैँचीको मूल्यवृद्धि भएर प्रतिमन ३० देखि ३२ हजारसम्म पुगेको छ । मूल्यवृद्धि भए पनि त्यसको फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताए । पहिले सिजनमै अलैँचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेका कारण त्यो फाइदा लिन नपाएको रेग्मीको भनाइ छ । यस्तै फुङ्लिङ बजारकै अलैँची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताए ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी अधिकारीका अनुसार कारोबारको मौसममा आएको मूल्यमा सबै अलैँची बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट वञ्चित हुनुपरेको हो । सुरुका वर्षमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैँची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा सुरुमै कारोबार गर्नेगरेको स्थानीय व्यवसायी बताउँछन् ।

ताप्लेजुङमा भने चार हजार दुई सय ५८ हेक्टर क्षेत्रफलबराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार नौ सय ६० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्यांकअनुसार यसवर्ष जिल्लामा गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया