Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिझरीले पाकेको धान भित्र्याउन समस्या

झरीले पाकेको धान भित्र्याउन समस्या


दोलखा । लगातारको झरीले पाकेको धान भित्र्याउन तथा काट्न नपाउँदा दोलखाका किसान मारमा परेका छन् । आइतबारदेखि भइरहेको निरन्तरको वर्षाको कारण पाकेको धान काट्न किसानलाई समस्या भएको हो ।

दशैँ सकेर धान काट्ने तयारीमा रहेका जिल्लाका तल्लो भेगका किसानलाई झरीले निराश बनाएको छ । मुख्य बालीको रूपमा असारमा लगाएको धान पाकेर काट्ने बेला भए पनि लगातारको वर्षाले धान काट्न नदिएको बैतेश्वर काब्रेका किसान हरि प्रसाद दाहालले बताए । पाकेको बालीमा लगातार वर्षा हुँदा खेतमै धान उम्रिन र कुहिनथालेको उनले बताए । ‘मौसमले साथ दिएको भए यो समय वर्षभर खाने मुख्य बाली भित्र्याउन भ्याइनभ्याइ हुने गथ्र्यो’, बैतेश्वर नाम्दुका किसान नवराज गिरीले भने । भर्खरै काट्न सुरु गरेको धान पानी भिज्दा निउनमै उम्रिन थालेकोले बाकी धान काट्न समस्या भएको उनले बताए ।

धान काट्न गत वर्षभन्दा केही ढिला भएको हुँदा खेतभरि पाकेको धानलाई वर्षाले लडाएकोले धेरै बाली खेर जाने डर भएको किसानहरु बताउँछन् । जिल्लाको बैतेश्वर गाउँपालिका धान खेतीको हिसाबले अनुकूल वातावरण भएको गाउँपालिका हो । बैतेश्वर गाउँपालिकाको माथिल्लो भेगमा धानखेती कम भए पनि तल्लो भेगका सबै बेसीमा धान खेती हुँदै आएको छ । आफ्नो १० रोपनीमा खेतमा लगाएको हाइब्रिड धान पाकेर पहेँलो भए पनि झरीले काट्न नदिएपछि किसान शान्ति बस्नेत चिन्तित छिन् ।

उनी भन्छिन्, ‘यो वर्ष गत वर्षभन्दा राम्रो फलेको भए पनि झरीले गर्दा खेतमै धान पाकेर झर्न थालेको छ, अझै कति दिन झरी पर्ने हो ।’ बैतेश्वरका सयौं रोपनीमा खेतमा किसानहरुले असोजभित्रै पाक्ने हाइब्रिड धान लगाएका छन् । दशैँले गर्दा एक सातापछि धान काट्ने तयारी गरेका किसानलाई झरीले झन् मारमा पारेको हो । जिल्लाको भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका र तामाकोशी गाउँपालिकामा पनि धान काट्ने समय सुरु भएको छ ।

भीमेश्वर नगरपालिकाको जिलुमा अहिले धेरै किसानले वर्षाका कारण धान काट्न नसकेको दुःखेसो गरेका छन् । धान उत्पादनको हिसाबले उर्वर मानिने जिलुमा असोजदेखि कात्तिकभित्र धान काटेर सकिने गर्छ । यो वर्ष मौसम खराबीका कारण धान काट्न तथा भित्र्याउन समस्या भएको किसान छबिन्द्र चौलागाईंले बताए। दोलखामा सबैभन्दा बढी धान उत्पादन भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका र बैतेश्वर गाउँपालिकामा हुँदै आएको छ । यी सबै क्षेत्रमा लगाएको धान कात्तिकभित्र काटेर सकिने गर्छ भने मंसिरमा दाइँ गरेर घरमा भित्र्याउने गरिन्छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया