Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषि‘आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी’

‘आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी’


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटमा उनले सहकारीमार्फत अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक भएको बताएका हुन् ।

सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डको रूपमा रहेकाले नेपालमा पनि सहकारीको विकासका लागि ध्यान दिनुपर्ने उनले बताए । सहकारीमा विकृति, विसंगति भित्रिएको भन्दै निराकरणका लागि सहकारी अभियान र राज्य चनाखो हुनुपर्ने उपराष्ट्रपनि पुनको भनाइ छ । सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनमा जोड दिनुपर्ने उनले बताए । सहकारी व्यवस्थापनमा ध्यान दिन सके यसैका माध्यमबाट दुर्तगतिमा आर्थिक विकास सम्भव हुने उनले बताए ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री फम्फा भुसालले समाजमा सहकारीले रचनात्मक काम गरेको भए पनि केही बदमासी र खराबीका कारण यस क्षेत्र बदनामी हुन पुगेको उनले बताइन् । सहकारी क्षेत्रले निक्षेप पनि बढीमा लिएर कर्जामा पनि बढी लिएको भन्दै उनले अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन सुझाव दिइन् । राज्यले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर निर्धारण गरे पनि अझै कम गरेर उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ । कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि वर्षेनी दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद भएको बताइन् । जलविद्युत्मा सहकारीको लगानी बढाउनुपर्नेमा उनले जोड दिइन् । सहकारीले जलविद्युत्मा लगानी बढाएर बढीभन्दा बढी उत्पादन गरेर पेट्रोलियम पदार्थको आयात रोक्न सकिने बताइन् ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विद्युतीय गाडी प्रयोग गर्नुपर्ने उनले जोड दिइन् । पेट्रोलियम पदार्थको आयातले अर्थतन्त्र धराशायी हुनुका साथै वातावरण प्रदूषित भएकाले अब विद्युतीय गाडी प्रयोग गर्नुपर्नेमा उनले जोड दिइन् । सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले दिगो विकासका लक्ष्य हासिल गर्न सहकारी अग्रपंक्तिमा आउनुपर्ने उनले बताए । केही सहकारीमा समस्या आएको भन्दै उनले सहकारी र राज्य मिलेर समस्या निराकरण गर्नुपर्ने बताए । महासंघका पूर्वअध्यक्ष दिपकप्रकाश बास्कोटाले सहकारीमार्फत छरिएको पुँजी एकीकृत गरी राष्ट्र विकासमा लगाउनुपर्ने बताए । स्वदेशी पुँजी लगानी हुन नसकिरहेको अवस्थामा वैदेशिक ऋण र वैदेशिक लगानीमा प्राथमिकता दिन नहुने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले स्थानीय तहले सहकारीलाई प्राथमिकता दिन नसकेको बताए । यस्तै उनले ऐन, नियम बाधक भएकाले सहकारीमार्फत लगानी गर्न नपाइएको उनले बताए । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सहकारीको समस्या समाधान गर्न राज्यले नसकेको बताए । राज्यको भूमिका कमजोर भएकाले पनि सहकारीमा समस्या आउने गरेको उनको भनाइ थियो । ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाइले संघले हरेक ३/३ महिनामा वित्तीय विवरण प्रकाशित गर्दै आएको बताए । सहकारीले पनि कम्तीमा ६/६ महिनाभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्ने उनको भनाइ थियो ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया