Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिबीको उत्पादन बढेसँगै माग र मूल्य घट्यो

किबीको उत्पादन बढेसँगै माग र मूल्य घट्यो


दोलखा । जिल्लामा यसवर्ष किबी उत्पादनमा वृद्धि भएको पाइएको छ । किबी फल उत्पादनको हिसाबले उर्वर भूमि मानिने दोलखामा गतवर्षको तुलनामा यसवर्ष किबी उत्पादन राम्रो भएको कृषकहरूले बताएका छन् ।

दोलखामा प्रायःजसो सबै क्षेत्रमा किबी फलको खेती गरिएको छ । भीमेश्वर नगरपालिका वडा–८ का कृषक नारायण बस्नेतले गतवर्षभन्दा अहिले किबीको उत्पादन वृद्धि भएको बताए । उत्पादनमा वृद्धि भए पनि माग कम भएकाले बिक्री गर्न समस्या भएको उनको भनाइ छ । ३ सय ३५ बोट किबी लगाएका उनले १२ लाखबराबरको किबी फलेको र बिक्रीको लागि बजार खोजिरहेको बताए । यस उनले छ हजार केजी किबी उत्पादन गरेका थिए । किबी पाक्ने र टिप्ने समय सुरु भएकाले स्थानीय बजारमा किबीको माग घटेको तथा काठमाडौंमा समेत किबी बिक्री गर्न समस्या भएको उनको भनाइ छ ।

गतवर्षहरूमा कमै किबी उत्पादन हुने हुँदा सहजरूपमा स्थानीय बजारमै बिक्री हुने भए पनि अहिले जिल्लाभर किबीको उत्पादन बढेकाले सहज रूपमा बिक्री गर्न समस्या भएको किसानहरूले बताएका छन् । हिजोआज काठमाडौं लगेर प्रतिकेजी एक सय ५० देखि दुई सय रूपैयाँमा बिक्री गर्नुपर्ने बाध्यता रहेको किसानहरूको भनाइ छ ।

देशभरबाट काठमाडौंमा किबी आउन थालेपछि बजारमा किबीको मूल्य घट्दै गएको छ । यस वर्षको सुरुकै समयमा भने किबीको माग अत्याधिक थियो तर अहिले माग र मूल्य दुवै घट्दै गएको छ । सुरुमा प्रतिकेजी तीन सय ५० रूपैयाँसम्ममा बिक्री भएको रेड, हे–वार्ड, मोन्टी, ब्रुनोलगायत जातको किबी अहिले मूल्य घटेर प्रतिकेजी एक सय ५० रूपैयाँमा आइपुगेको छ । मुख्य गरी कात्तिकमा सबैखाले किबी टिप्न र बिक्री गर्ने समय भएकाले मूल्य र माग दुवै घटेको किसानहरूको बुझाइ छ । साथै हाल किबीको फलसँगै बिरुवा समेत बिक्री हुन छाडेको छ । व्यावसायिकरूपमा किबीको बिरुवा उत्पादन गर्दै आएका सोही वडाका अर्का कृषक गणेश भुजेलले बिरुवाको माग पनि न्यून रहेको बताए । भुजेलले पनि ५० बोट किबी लगाएका छन् भने, ३० हजार किबीका बिरुवा उत्पादन गरेका छन् ।

अघिल्ला वर्षहरूमा किबीको बिरुवाको माग वृद्धि भएकाले जिल्लाका किसानलाई पुग्ने गरी एकैपटक धेरै किबीका बिरुवा उत्पादन गरेको उनले सुनाए । तर बिरुवाको माग घटेकाले बिरुवा बिक्री गर्न समस्या भएको उनको भनाइ छ । प्रतिगोटा दुई सय ५० रूपैयाँमा बिक्री हुने बिरुवा अहिले एक सय रूपैयाँ समेत बिक्री हुन नसकेको भुजेलले बताए । भीमेश्वर नगरपालिकाको बोच, मकैबारी, स्याखिनेलगायतका बस्तीबाट हजारौँ टन किबी उत्पादन हुँदै आएको छ । यहाँका सयौँ किसानले व्यावसायिकरूपमा किबीखेती गरेका छन् भने आम्दानीको मुख्य स्रोत पनि कृषिलाई नै बनाएका छन् । 


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया