काठमाडौं । नेपाल एसबीआई बैंकको ३३औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना गरेको थियो जहाँ बैंकका सबै कर्मचारीहरूले बैंकप्रतिको जिम्मेवारीका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरेको बैंकले जानकारी दिएको छ ।
बैंकको प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत राम कुमार तिवारीले सम्पूर्ण कर्मचारीहरूलाई शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णु देव यादव तथा बैंकका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, प्रदेश कार्यालय तथा देशभरका शाखा कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि भर्चुअल माध्यमबाट कार्यक्रममा सहभागी भई शपथ ग्रहण गरेका थिए । कर्मचारीहरूलाई सम्बोधन गर्दै, प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतले बैंकको विरासतलाई कायम राख्दै वित्तीय क्षेत्रमा एक अग्रणी बैंकको रूपमा स्थान कायम राख्न प्रत्येक कर्मचारीले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिएका थिए । उनले बैंकले निरन्तर पालना गर्दै आएका अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूले सुशासनलाई सुदृढ पार्न र सञ्चालन उत्कृष्टता कायम गर्न बैंक सफल भएको बताएका थिए ।
साथै, प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतले सबै कर्मचारीहरूलाई नैतिकता, इमानदारीता, नवीनता, ग्राहक–केन्द्रित सेवा तथा सहकार्य मार्फत उत्कृष्टताको लागि प्रयासरत रहन प्रोत्साहित गर्दै समर्पण, प्रतिबद्धता र सामूहिक प्रयासमार्फत चुनौतीहरूलाई अवसरमा र आकांक्षालाई उपलब्धिमा रूपान्तरण गर्ने आवश्यकतामा पनि जोड दिएका थिए । सो अवसरमा बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सोही दिन काठमाडौंको कमलादी स्थित प्रधान कार्यालयसहित सबै प्रदेशहरूमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । साथै, बैंकले विराटनगरस्थित लक्ष्मीनारायण वेद विद्याश्रमलाई प्रविधिमैत्री शिक्षाको प्रवद्र्धनका लागि स्मार्ट बोर्ड तथा विराटेश्वर ज्येष्ठ नागरिक मैत्री क्लिनिकलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको थियो । त्यसैगरी, वीरेन्द्रनगरस्थित बैंकले प्रभात माध्यमिक विद्यालय तथा हरिदिल भूमि माध्यमिक विद्यालयलाई पनि स्मार्ट बोर्ड प्रदान गरी प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुर्याएको छ ।
नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । हाल बैंकको एक सय तीनवटा शाखा कार्यालय, २२ वटा एक्स्टेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ, एक सय २७ वटा एटीएम काउन्टर र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।