Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारबीमाको दायरामा आएको जनसंख्या घट्यो

बीमाको दायरामा आएको जनसंख्या घट्यो


काठमाडौं । बीमाको विकास, विस्तार र सबलताको लागि भन्दा पनि पहुँच विस्तारको लागि भन्दै पाँचतारे होटलहरूमा दैनिकजसो कार्यक्रम गरेर समय बिताउने नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको सुगा रटाइ व्यर्थ भएको छ । कहिले जीवन बीमा, कहिले निर्जीवन बीमा, कहिले कुन प्रदेश–कहिले कुन प्रदेश, कहिले बीमा अभिकर्ता आदिको लागि गोष्ठी तथा सभासमारोह गर्दै हिँड्ने सिलवाल कार्यालयमा भन्दा धेरै समय यस्तै कार्यक्रममा भेटिन्छन् ।

समग्र बीमा क्षेत्रको विकास र सबलताको लागि भन्दा पनि बीमाको पहुँच विस्तारको लागि भन्दै हरेक कार्यक्रममा एउटै निर्देशन दिएर आत्मरतिमा रमाउने अध्यक्ष सिलवालको कार्यशैलीले बीमाको पहुँच बढ्नेभन्दा पनि घट्दै गएको प्राधिकरणको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार २०७९ माघ मसान्तसम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या ४४ दशमलव सात प्रतिशत थियो । तर, एक वर्षपछि २०८० माघ मसान्तसम्म यो घटेर ४३ दशमलव १३ प्रतिशतमा झरेको छ ।

No description available.

बीमाको पहुँच खुम्चिँदै गएपछि निर्जीवन र जीवन बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन पनि सामान्य बढेको देखिन्छ । गत आर्थिक वर्षको माघ मसान्तमा जीवन बीमा कम्पनीहरूले ८३ अर्ब ३९ करोड १४ लाख २४ हजार र निर्जीवन बीमा कम्पनीहरूले २३ अर्ब छ करोड २९ लाख ८२ हजार रूपैयाँ समेत गरी कुल एक खर्ब छ अर्ब ४५ करोड ४४ लाख छ हजार रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ८६ अर्ब ९२ करोड ३१ लाख १० हजार र निर्जीवन बीमा कम्पनीहरूले २२ अर्ब ४६ करोड २८ लाख ४९ हजार रूपैयाँ गरी कुल एक खर्ब नौ अर्ब ३८ करोड ५९ लाख ५९ हजार रूपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

यस वर्षको माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या बढेको छ भने जीवन बीमा कम्पनीहरूमा घटेको छ । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको माघ मसान्तसम्म कुल एक करोड ३७ लाख ९४ हजार एक सय १७ वटा बीमालेखहरू जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव २७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको माघ मसान्तमा जीवन बीमा कम्पनीहरूले एक करोड ४२ लाख ६० हजार एक सय ३९ वटा बीमालेख जारी गरेका थिए । यसवर्ष माघ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले भने १७ लाख दुई हजार नौ सय ८७ वटा बीमालेख जारी गरेका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार दशमलव शून्य आठ प्रतिशतले बढी हो । प्राधिकरणका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल १६ लाख ३६ हजार दुई सय ८४ वटा बीमालेख जारी गरेका थिए ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया