Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारजोखिम नछुट्ने गरी पुनर्बीमा गर्न बीमकलाई निर्देशन

जोखिम नछुट्ने गरी पुनर्बीमा गर्न बीमकलाई निर्देशन


काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ जारी गरेको छ । पुनर्बीमा व्यवसायसम्बन्धी व्यवस्थाको तर्जुमा गरी जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्ने उद्देश्यले ‘बीमा ऐन, २०७९’ को दफा १६६ अनुसार निर्देशिका जारी गरिएको प्राधिकरणले जनाएको छ ।

निर्देशिका अनुसार बीमकले ट्रिटी पुनर्बीमा, ऐच्छिक पुनर्बीमा (फ्याकल्टेटिभ पुनर्बीमा) र बीमा पुलअन्तर्गतका पुनर्बीमा गर्नुपर्नेछ । प्राधिकरणका अनुसार बीमकले आफूले वहन गर्नसक्ने वहन गरी बाँकी पुनर्बीमा गराउनुपर्नेछ । यस्तो पुनर्बीमा गराउँदा आफूले पूरै स्वीकार गर्ने जोखिमबाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमा गर्नुपर्नेछ । यसबाहेक बीमकले पुनर्बीमा गर्दा जोखिमको विविधीकरण गर्र्नुपर्ने, बीमकको प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण गर्नुपर्नेछ । बीमकले प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिमको आफूले वहन नगरी शत प्रतिशत पुनर्बीमा गराउन नहुने निर्देशिकामा उल्लेख छ । यसबाहेक बीमकले आफ्नो जोखिम निर्धारण गर्दा जोखिमको प्रकृतिअनुसार आफ्नो खुद धारण न्यून गर्न सक्नेछ भने बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्नेछ । पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई २४ घण्टाभित्र जवाफ पठाउनुपर्नेछ । पुनर्बीमकले सो प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न सक्नेछ ।

प्राधिकरणका अनुसार निर्देशिका जारी भएपछि बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार (पोर्टफोलियो) अनुसार पुनर्बीमासम्बन्धी व्यवस्था गर्नुपर्नेछ । बीमकले जारी गरेको बीमालेखअन्तर्गत प्रतिबीमालेख, प्रतिजोखिममा बीमकको धारण नेपालभित्र रहेको आफ्नो नेटवर्थको अधिकतम धारण जीवन बीमकको हकमा शून्य दशमलव पाँच प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशतभन्दा बढी हुनु हुँदैन । जीवन बीमकको हकमा प्रतिबीमालेख बढीमा ५० लाख रूपैयाँसम्म धारण गर्न सकिनेछ । निर्देशिकाअनुसार विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रूपमा कारोबार गरिरहेको बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमताबमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिनेछ । बीमकले स्वदेशी पुनर्बीमकलाई ट्रिटी पुनर्बीमाअन्तर्गत पुनर्बीमा गर्दा आर्थिक वर्ष २०७९/८० सम्म १० प्रतिशत, आव २०८०/८१ सम्म आठ प्रतिशत, आव २०८१/८२ सम्म छ प्रतिशत, आव २०८२/८३ सम्म चार प्रतिशत, आव २०८३/८४ सम्म दुई प्रतिशत हुनेगरी प्रतिस्वदेशी पुनर्बीमकको हिस्सा बाँडफाट गुर्नपर्नेछ ।

प्राधिकरणका अनुसार बीमकले ट्रिटी पुनर्बीमाअन्तर्गत प्रत्यक्ष हिस्सा स्वदेशी पुनर्बीमकलाई प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ । बीमकले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडीबुटी बीमा तथा विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ बीमाबाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमा नै शत प्रतिशत पुनर्बीमा गर्नुपर्नेछ । त्यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न पाउने छैन । फ्याकल्टेटिभ पुनर्बीमाअनुसार पुनर्बीमा व्यवस्थाबमोजिम स्वदेशी बीमकहरूले अर्को स्वदेशी बीमक वा बीमकहरूसँग आन्तरिक फ्याकल्टेटिभ पुनर्बीमा गर्न सक्नेछन् । ‘बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा पुनर्बीमकको स्वीकृति (कन्फर्मेसन) प्राप्त नभएसम्म बीमालेख जारी गर्नु हुँदैन’, निर्देशिकामा भनिएको छ ।

निर्देशिका अनुसार नेपाली नागरिकको बीमायोग्य हित रहेको विदेशस्थित सम्पत्ति तथा दायित्वको प्राधिकरणबाट इजाजतप्राप्त नेपाली बीमकहरूबाट नेपालमा नै बीमा गर्न सक्ने र त्यस्तो बीमाबापत कुनै दाबी परेमा नेपालभित्र नेपाली मुद्रामा दाबी भुक्तानी गर्न सकिनेछ ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया