Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमौरिसस रोजगारी खुल्ने

मौरिसस रोजगारी खुल्ने


काठमाण्डौं,फागुन २३

श्रम सम्झौता भएको करिब एक वर्षपछि मौरिसस रोजगारी खुल्ने भएको छ । मौरिसस रोजगारी खुलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव गत साता मौरिसस भ्रमणमा गएका थिए । भ्रमणमा रहेको समयमा दुई पक्षबीच बसेको संयुक्त बैठकले मौरिसस रोजागारी छिट्टै खुल्ला गर्न सहमत भएको श्रम मन्त्रालयका वैदेशिक रोजगार महाशाखाका उपसचिव दीपक ढकालले बताए । उनले नेपाली कामदारलाई मौरिसस रोजगारी खुल्ला गर्नको लागि दुई पक्षबीच भएको छलफल सकारात्मक भएको बताउँदै अबको केही हप्तामा नै नेपाली कामदारका लागि मौरिसस रोजगारी खुल्ला हुने जानकारी दिए ।‘दुवै पक्षले कामदार लैजान विषयमा पत्र आदानप्रदान गर्नेछन्, सोसँगै मौरिसस रोजगारी खुल्ला हुनेछ’, उनले भने, ‘दुवैतर्फका सचिवले सो पत्रमा आधिकारिकताको लागि हस्ताक्षर गरेसँगै मौरिसस रोजगारी कार्यान्वयनमा आउनेछ ।’

छलफलमा नेपाली कामदार लैजाने विषयमा मौरिसस पक्षले भने आफ्नोतर्फ कुनै पनि संस्था त्यसमा संलग्न नहुने स्पष्ट पारेको बताए । नेपाली कामदार मौरिसस आउने क्रममा रोजगारदाताले नै सम्पूर्ण बन्दोबस्ती गर्ने जानकारी गराएको उनको भनाइ छ । उनले भने, ‘नेपालको हकमा भने कामदारहरु मेनपावरको भर पर्नुपर्ने हुन्छ ।’ मौरिसस पक्ष कामदारलाई भार नहोस् भन्ने उद्देश्यले रोजगारदाताले नै सम्पूर्ण काम गर्ने गरी अघि बढेका हुन् । कामदार लैजाने विषयमा मौरिससतर्फ सरकारले नै जिम्मेवारी लिने उनले जानकारी दिए । ‘मौरिससको श्रम मन्त्रालयले नै कामदारहरुको जिम्मेवारी लिनेछ’, उनले आर्थिक दैनिकसँग भने । नेपाली कामदारलाई विशेष गरी कृषि, पूर्वाधार, होटल, उत्पादन, सुरक्षा, सेवा र पर्यटन क्षेत्रमा लैजाने उनीहरुको योजना रहेको बताउँदै उनले मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रक्रिया अपनाउन आग्रह गरेको उल्लेख गरे । विभिन्न मुलुकबाट गरी ३० हजार कामदार मौरिससले लिन चाहेको छ । सोही कारण नेपाली कामदारहरु पनि मौरिसस जान पाउनेछन् । ‘नेपाली कामदारहरु लिन मौरिससले इच्छुक रहेको बताएको छ’, उनले भने, ‘सोसँगै कामदारहरु मौरिसस जाने विषयमा आफूहरु विश्वस्त भएका हौँ ।’ श्रम सम्झौताअनुरुप नेपाली कामदारले मौरिससमा काम गर्दा समान ज्याला प्राप्त गर्नेछन् अर्थात् मौरिससका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने छन् । महिला कामदारको हकमा भने श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने, तलब सुविधा समयमै प्रदान गर्नुपर्ने रहेको छ ।

कामदारले राहदानी आफैँ राख्न पाउनुपर्ने तथा मौरिसस विमानस्थलमा उत्रिएको छ घण्टा अवधिमा सम्बन्धित कम्पनीमा लैजानुपर्नेछ । रोजगारदाताको कारण कम्पनी वा संस्था बन्द भएको खण्डमा कामदारले अन्यत्र कम्पनीमा काम गर्नसक्ने व्यवस्था समेत सम्झौतामै रहेको छ । त्यस्तै, मृत्यु वा अंगभंग भएको खण्डमा छिटो उपचार तथा शव नेपालमा ल्याउने व्यवस्था गरिदिनुपर्ने वा त्यसको खर्च समेत रोजगारदाताले व्यहोर्नुपर्ने, निःशुल्क कानुनी उपचारको समेत व्यवस्था गर्नुपर्ने प्रावधान सम्झौतामा राखिएका छन् । मौरिससमा दुवै मुलुकको संयुक्त कार्य समूहको बैठकले नेपाली कामदार लैजाने विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । भ्रमणमा नेपालको तर्फबाट यादवसँगै मन्त्रालयका सचिव विनोद केसी नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी थिए । मौरिससका तर्फबाट भने श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नसहितको टोली सहभागी थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया