Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजारआवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन

आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीलाई निर्देशन


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक–फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित डिजिटल बीमालेखसम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकताअनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दिए ।

अध्यक्ष सिलवालले भने, ‘भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ, जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एक मात्र माध्यम भनेको बीमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दललगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीव्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।’

बीमा क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गरी लागत न्यून गर्न र सेवा प्रवाहलाई छिटोछरितो बनाउनका लागि आगामी १५–२० वर्षसम्मको आवश्यकतालाई धान्ने गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरण क्रमिकरूपमा डिजिटलाइजेसनमा अगाडि बढिरहेको छ, बीमा कम्पनीहरूले पनि लगानी बढाएर नयाँ सफ्टवेयर सञ्चालनमा ल्याउनुपर्छ, कम्पनीका आ–आफ्ना विशेषताहरूलाई सम्बोधन गर्नेगरी नयाँ सफ्टवेयर ल्याउन बीमकका सङ्घहरू अग्रसर हुनुपर्छ, प्राधिकरणले कागजात नस्वीकार्ने निर्णय गरेपछि बाध्य भएर कम्पनीहरू डिजिटलाइजेसनमा जानुपर्ने अवस्था आउन सक्छ ।’

लघुबीमा कम्पनीहरूलाई न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्न इजाजतपत्र दिइएको स्पष्ट गर्दै अध्यक्ष सिलवालले भने, ‘लघुबीमा कम्पनीहरू इजाजतको परिधिभित्र रहनुपर्छ, न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई नै लक्षित गरी काम गर्नुपर्छ, फरकखालका नयाँ बीमालेख ल्याउनुपर्छ, बीमाशुल्क सस्तो हुनुपर्छ, दाबी भुक्तानी छिटोछरितो हुनुपर्छ ।’

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले खोजमूलक अध्ययन अनुसन्धान गरेर नयाँ–नयाँ बीमालेखहरू ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै नयाँ बीमालेखबाट बीमाको दायरा बढ्ने र बीमा कम्पनीप्रतिको धारणा पनि राम्रो हुने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आगामी वर्ष धेरै क्षेत्रमा व्यापकरूपमा डिजिटलाइजेसनमा जाने प्राधिकरणको तयारी रहेको जानकारी दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा कम्पनीहरूले पर्याप्त अध्ययन अनुसन्धान गरी बीमालेख ल्याएमा मात्र बीमालेखको बिक्री बढ्ने, बीमित सन्तुष्ट हुने र बीमाप्रतिको विश्वसनीयता समेत बढ्ने बताए ।

नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषकराज पौडेलले बीमा कम्पनीहरू डिजिटलरूपमा अगाडि बढ्न तयार रहेको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले जीवन बीमालेख स्वीकृतिमा देखिएका समस्या तथा चुनौतीसम्बन्धी प्रस्तुति गर्दै बजार अध्ययन गरी नयाँ–नयाँ बीमालेख प्रचलनमा ल्याउन बीमा कम्पनीहरूलाई आग्रह गर्नुहुँदै कोडिङसम्बन्धी व्यवस्थाले बीमालेख स्वीकृतिका लागि आवेदन दिने, स्वीकृति दिने, बीमालेख जारी गर्नेलगायतका कार्य सहज हुने बताए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले बीमालेख कोडिङ तथा डिजिटल बीमालेखसम्बन्धी प्रस्तुति गरे ।


क्याटेगोरी : बीमा बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया