Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !

प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण !


काठमाडौं । हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूले नेपाल सरकारको अधिनमा रहेका संस्थाहरू नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सले आफूहरूमाथि शोषण गरिरहेको आरोप लगाएका छन् ।

हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूको संस्था युनिट्राभले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गरी शोषण अन्त्य नभए आन्दोलन थाल्ने चेतावनी दिएको छ । प्राधिकरण, नेपाल एयरलाइन्ससँगै एयर इन्डिया टाटाले समेत कार्यरत कर्मचारीलाई शोषण गरेको श्रमिकहरूको आरोप छ । यी संस्थाहरूले श्रमिक एवं कर्मचारीबीच नै तलब, भत्तादेखि सबै सेवा, सुविधामा विभेद गरेको युनिट्राभले जनाएको छ । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले श्रमिकहरूले मे दिवस, महिला दिवसदेखि सिपमूलक कार्यक्रममा सहभागी हुन समेत तलब, भत्ता काट्ने गरेको बताए ।

युनिट्राभका अनुसार प्राधिकरणमा दुई फरक तरिकाबाट श्रमिक राखिएको छ । त्यसमध्ये आउट सोर्सिङ कम्पनीबाट रोजगारीमा राखिएका श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने बिदा, चार वर्षदेखि वृद्धि भएको तलब, भत्ता, कानुनले दिएको अन्य सेवा तथा सुविधा दिने गरेको छैन । यस्तै, किरिया बिदा तथा सुत्केरी बिदा समेत नदिएर तलब काट्ने गरेको श्रमिकहरूले गुनासो गर्ने गरेको युनिट्राभले जनाएको छ ।

यूनिट्राभका अध्यक्ष पराजुलीका अनुसार सुत्केरी स्याहारका लागि तीन दिन बिदा बस्दा पाँच दिनको तलब काट्ने, पाँच दिन बिदा बस्दा आठ दिनको तलब काट्नेजस्ता प्रवृत्ति हुने गरेको छ । प्राधिकरणसँग श्रमिकका समस्याबारे कुरा राख्दा आउट सोर्सिङ कम्पनीलाई राखेर समस्या समाधान गर्नुको साटो उल्टै श्रमिकलाई हप्काउने गरेको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया