Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिलेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा

लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीको तयारी पूरा


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को आयोजनामा वैशाख २५ र २६ गते हुने लेखा सुपरीवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीको तयारी पूरा भएको छ । काठमाडौंको सोल्टी होटलमा आयोजना हुने उक्त गोष्ठीका लागि आवश्यक तयारी पूरा भएको नेफ्स्कुनकी उपाध्यक्ष एवं गोष्ठीकी संयोजक शान्ति अधिकारीले जानकारी दिइन् । ‘गोष्ठीमा सहभागिता जनाउन हामीले अपेक्षा गरेअनुसार नै देशभरका संस्थाहरूबाट लेखा समितिका पदाधिकारीले नाम दर्ता गराउनुभएको छ’, उनले भनिन्, ‘गोष्ठीले लेखा समितिका पदाधिकारीहरूमा ज्ञान र सिप प्रदान गर्नुका साथै आफ्नो कर्तव्य के रहेछ भन्ने कुराको स्पष्ट जानकारी दिनेछ ।’ ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरीवेक्षण समिति’ भन्ने थिमका साथ दोस्रो राष्ट्रिय गोष्ठी हुन लागेको उनले जनाइन् ।

नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसअघि नै लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न गरिसक्नुपर्ने भए पनि प्राविधिक कारणले केही ढिला भएको बताए । संस्थाभित्र सुशासन कायम गर्न र लेखा समितिको क्षमता अभिवृद्धि गर्न यो गोष्ठी फलदायी हुने उनको भनाइ छ । समय अनुकूल नभए पनि नेफ्स्कुनको साधारणसभा र बोर्ड बैठकले नै पारित गरिसकेकाले निर्धारित तालिकाअनुसार नै गोष्ठी सम्पन्न गर्न लागेको उनले बताए । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिहरूले विविध विषयमा प्रस्तुतीकरण गर्ने भएकाले सहभागीका लागि यो महत्वपूर्ण हुने उनले जनाए ।

गोष्ठीको पहिलो दिन ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरीवेक्षण समिति’ भन्ने विषयमा नेफ्स्कुनका सीईओ शिवजी सापकोटाले, ‘प्रकाअ, लेसुस, आलेप र बाह्य लेखापरीक्षकको सम्बन्धः परीक्षणका क्षेत्र, विधि र प्रक्रियाहरू’ विषयमा आईक्यानका तर्फबाट सञ्जीव ढकालले र ‘स्वस्थ एवम् सुरक्षित साकोस निर्माणः औजार र प्रविधि’ विषयमा आकुकी प्रतिनिधि एलिनिटा भी सानरोक्युले प्रस्तुतीकरण दिने तालिका रहेको छ । सोही दिन ‘लेखा सुपरीवेक्षण समितिको अभ्यासः सरोकारवालाको चासो र भूमिका’ भन्ने विषयमा सदस्य संस्थाका लेखा समिति संयोजक र विषयविज्ञहरूबीच सामूहिक छलफल हुनेछ ।

त्यसैगरी दोस्रो दिन ‘नियामकीय दृष्टिकोणमा सहकारी क्षेत्रको विद्यमान समस्या र समाधानमा सदस्य र समितिको भूमिका’ भन्ने विषयमा सहकारी विभागका रजिस्ट्रार पिताम्बर घिमिरेको, ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली : विश्व अभ्यास र नेपालको सम्भावना’ भन्ने विषयमा विश्व ऋण परिषद् (ओकु)की प्रतिनिधि एरिन ओ हेनरीको, ‘संस्थागत सुरक्षा र सुपरीवेक्षणमा वित्तीय क्षेत्रको अभ्यास र साकोस अभियान’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको र उत्प्रेरणात्मक प्रस्तुतीकरण : ‘समस्या, नेतृत्व, सम्भावना र समाधान’ विषयमा रमण नेपालीको प्रस्तुतीकरण रहनेछ । गोष्ठीमा देशभरबाट करिब तीन सय ५० जनाले रजिस्ट्रेसन गराएको आयोजक नेफ्स्कुनले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया