Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखानी छ तर उत्खनन्को योजना छैन

खानी छ तर उत्खनन्को योजना छैन


ढोरपाटन । बागलुङ सदरमुकामबाट दूरदराजका गाउँसम्म पुग्दा हामीले थुप्रै खानीहरू भेट्न सक्छौं । कतै तामाखानी, कतै फलामखानी त कतै सिसाखानी छन् । खानीबाटै जिल्लाका धेरै ठाउँको नामाकरणसमेत भएका छन् । प्रशस्त मात्रामा खानी हुँदा पनि अहिलेसम्म उत्खनन् हुन नसक्दा ती खानीहरू बेवारिसे भएका छन् ।

बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाका विभिन्न ठाउँमा तामाखानी रहेका छन् । धातुजन्य खानीसँगै जिल्लामा प्रशस्त मात्रामा ढुङ्गाखानी पनि छन् । ढुङ्गाखानी केही स्थानमा उत्खनन् हुने गरे पनि फलाम तथा तामाखानी अहिलेसम्म उत्खनन् हुन सकेका छैनन् । चार वर्षअगाडि सरकारले सम्भावना रहेको स्थानमा खानी सञ्चालन गर्ने घोषणा गरेपछि बागलुङ नगरपालिका–९ तित्याङमास्थित तामाखानी पुनःसञ्चालन गर्नका लागि नगरपालिकाले अध्ययन थालेको थियो । खानी विज्ञको समूहले सम्भावना औँल्याएपछि २०७६ सालमा नगरपालिकाले शुभम् ग्रुपसँगको साझेदारीमा धातुको अनुसन्धानको काम सुरु गरेको थियो ।

शुभम् ग्रुपले चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा मेसिन नै प्रयोग गरेर खानी परीक्षणको काम गरेको थियो । तर अहिलेसम्म त्यसको रिपोर्ट के–कस्तो आयो भन्ने यकिन भएको छैन । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन् गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास छ । यहाँका छन्त्याल जातिले खानीबाट तामा निकालेबापत राणा शासकलाई कर तिर्न नसकेपछि बन्द भएको स्थानीय ओमबहादुर छन्त्याल बताउँछन् । बारी तथा पाखाभरि पहिले तामा निकालेका खाडल नर्जाखानी क्षेत्रमा रहेको र पहिरो जाँदा तामाका टुक्रा भेटिने गरेको छन्त्याल बताउँछन् । सरकारले तामाखानी उत्खनन गर्न सके स्थानीयसँगै राज्यको ठूलो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ छ ।

तमानखोला गाउँपालिकाले खानी उत्खनन्का लागि बजेटको व्यवस्थापन गरेको छैन । खानी विभागबाटै यहाँका अध्ययन र परीक्षण गर्न थालेपछि पालिकाले आवश्यक बजेट व्यवस्थापन गर्ने अध्यक्ष जोकलाल बुढामगर बताउँछन् । तमानखोलामा मात्रै फलामखानी, तामाखानी र झल्कने ढुङ्खाखानी रहेको तथा खानीका बारेमा केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी सञ्चालन गर्ने नीति बनाएको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–९ तित्याङको तामाखानीमा चार वर्ष अगाडि आएको चिनियाँ प्राविधिक टोलीले दुई ठाउँमा सुरुङ खनेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । प्राविधिक टोलीले तामाखानीमा के–के काम गर्यो, परीक्षणपछि कस्तो रिपोर्ट आयो भन्ने अहिलेसम्म खानी विभागले नगरपालिकालाई जानकारी नगराएको उनले बताए । खानी विभागलाई तत्काल रिपोर्ट बुझाउन माग गरिरहेको उपप्रमुख खड्का बताउँछन् । उनले भने, ‘आगामी वर्षका लागि नगरपालिकाले खानी उत्खनन् भनेर बजेट त विनियोजन गरेको छैन तर माथिल्लो निकायसँग सहकार्य गरेर काम गर्छौँ, केही बजेट व्यवस्थापन पनि गर्छौँ ।’ उत्खनन्का लागि परीक्षण त सुरु भएको थियो तर अहिले बन्द भएको उपप्रमुख खड्काले बताए । काठेखोला गाउँपालिका–३ धम्जा ओखले र वडा नं ८ लेखानीमा तामाखानी, तमानखोला गाउँपालिकाको नर्जाखानी, खुङ्खानी, ढोरपाटन नगरपालिकाको घोषाखानीमा तामाखानी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया