Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग४६औँ इफाप्का सम्मेलनको तयारी पूरा

४६औँ इफाप्का सम्मेलनको तयारी पूरा


काठमाडौं । एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औँ अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । इफाप्का अध्यक्ष समेत रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

दिगो पूर्वाधारमा साझेदारी भन्ने नारासहित यही मंसिर ५ गतेदेखि सुरु हुने सम्मलेन ९ गतेसम्म चल्नेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने बताइएको छ । त्यस्तै, इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । सम्मेलनमा विदेशका दुई सय ४२ सहित पाँच सयभन्दा बढीको सहभागिता रहने महासंघ अध्यक्ष सिंहले जानकारी दिए । सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम सुरु भइसकेको पनि उनले जानकारी दिए । हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औँ इफाप्का सम्मेलन महत्वपूर्ण हुने उनले बताए ।

जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उनले जानकारी दिए । सम्मेलनका कार्यक्रमहरू सार्वजनिक गर्दै अध्यक्ष सिंहले काठमाडौं घोषणापत्रसँगै मंसिर ८ मा सम्मेलन समापनको औपचारिक घोषणा गरिने बताए । सम्मेलनअन्तर्गत मंसिर ५ गते फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्युटिभ बोर्ड मिटिङ आयोजना गरिनेछ । यस्तै, मंसिर ६ मा जनरल एसेम्बलीसहित विभिन्न कमिटीहरूको बैठक आयोजना हुनेछ । यसैदिन सम्मेलनका केही सहभागीहरू वसन्तपुर र स्वयम्भुको अवलोकन भ्रमणमा जाने र दोस्रो एक्जुक्युटिभ बोर्ड मिटिङ र इमर्जिङ योङ लिडर्स कार्यक्रम आयोजना गरिने कार्यक्रम महासंघले सार्वजनिक गरेको छ  ।

मंसिर ७ मा गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता गरिने र मंसिर ८ गते नयाँ कार्य समिति चयन गरी उक्त कार्य समितिको एक्जुक्युटिभ बोर्ड मिटिङ र केही सहभागीहरूका लागि भक्तपुर दरबार स्क्वायरको अवलोकन भ्रमण कार्यक्रम राखिएको छ । यसै सम्मेलनमार्फत् गत एक वर्षअघिदेखि इफाप्का अध्यक्षको कार्यभार सम्हालीरहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले इफाप्का अध्यक्षको जिम्मेवारी सिंगापुरलाई हस्तान्तरण गर्नेछन् । सिंहको कार्यकालमा नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार समेत रहेका वीरेन्द्र राज पाण्डेले महासचिव र कार्य समिति सदस्य सुशीलकुमार श्रेष्ठले बोर्ड मेम्बर छन् ।

४६ औँ इफाप्का सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न इफाप्का तथा महासंघ अध्यक्ष रवि सिंहको संयोजकत्वमा २१ सदस्यीय मूल आयोजक समिति र मूल आयोजक समिति मातहतका ९ वटा उपसमितिहरू गठन गरिएको महासंघले जनाएको छ । महासंघका सल्लाहकार एवम् इफाप्का महासचिव वीरेन्द्रराज पाण्डेले मुलुकको प्रतिष्ठासँग जोडिएको ४६ औँ इफाप्का सम्मेलनलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । महासंघका महासचिव रोशन दाहालले सदस्य राष्ट्रहरूबीचको सहकार्य तथा निर्माण कार्यसम्बन्धी अनुभव आदानप्रदानका लागि इफाप्का उपयुक्त मञ्च भएको बताए । यसअघि नेपालले २४ वर्ष अघि सन् १९९९ मा निर्माण व्यवसायी गणेशलाल श्रेष्ठ इफाप्का अध्यक्ष रहेका समयमा काठमाडौंमा ३० औँ इफाप्का सम्मेलन आयोजना गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया