Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा

शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा


काठमाडौं । मुलुकबाट बाहिरने भन्दा भित्रने मुद्राको मात्रामा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनामा शोधनान्तर स्थिति दुई खर्ब १० अर्ब ५९ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४५ अर्ब ८६ करोड रुपैयाँले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा एक अर्ब ५८ करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता एक खर्ब ४० अर्ब २३ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४१ अर्ब २१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड २२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब पाँच करोडले बचतमा रहेको छ ।

केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले कमी आई दुई अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ९२ करोड रुपैयाँले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ४७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६० करोड ४९ लाख रुपैयाँले धनात्मक रहेको थियो ।

वैदेशिक व्यापारतर्फ चालु आवको पाँच महिनामा कूल वस्तु निर्यात छ दशमलव एक प्रतिशतले कमी आई ६३ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३४ दशमलव छ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ११ दशमलव तीन प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः तीन सय २२ दशमलव तीन प्रतिशत र दुई दशमलव तीन प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोड, जुस, पोलिस्टर धागो, तयारी पोशाकलगायतका वस्तुको निर्यात बढेको छ । त्यस्तै, राससले जनाएनुसार पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैँचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ । चालु आवको पाँच महिनामा कूल वस्तु आयात तीन दशमलव चार प्रतिशतले कमी आई छ खर्ब ४२ अर्ब २१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २० दशमलव सात प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः एक दशमलव तीन प्रतिशत र २८ दशमलव चार प्रतिशतले घटेको छ । चीनबाट भएको आयात ३२ दशमलव आठ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । सुन, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, धान लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

चालु आवको पाँच महिनामा कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले कमी आई पाँच खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८ दशमलव आठ प्रतिशतले घटेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया