Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता

एनसेल र जल तथा मौसम विज्ञान विभागबीच सम्झौता


काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको आफ्नो सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब एनसेलले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपका बारेमा पूर्व सूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा दुवै पक्षले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनसेल र जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना प्रणालीअन्तर्गत अब १३ वटा प्रकोपका बारेमा आमजनमानसलाई प्रकोप पूर्व सूचना प्रवाह गर्नेछ । ती १३ प्रकोपहरूमा बाढी, आकस्मिक बाढी, वर्षा, चट्याङ, हावा हुरी, आँधी, पहिरो, हिमपहिरो, हिमपात, शीतलहर, डढेलो, वायु प्रदूषण र घुम्रपात आदि रहेका छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले एक कार्यक्रमका बीच सो समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

विभागका महानिर्देशक डा कर्माचार्यले कुनै प्राकृतिक विपद् घट्नुभन्दा अगावै प्राप्त हुने पूर्व सूचनाले त्यस जोखिमबाट बच्न सकिने बताए । ग्रासरुट–टु–ग्लोबल एक्सनको अवधारणा अनुरूप पूर्व सूचना प्रवाहका लागि यो सहकार्य गरिएको उनले जानकारी दिए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विभागसँग १३ वटा विपद्लाई पुर्व सूचना प्रणालीमा समेट्ने गरी गरिएको यो सहकार्यले सम्भावित विपद्बाट जोगाउने बताए । पूर्व सूचना प्रणालीले जोखिम क्षेत्रभित्र रहेका मानिसहरूलाई सम्भावित जोखिमको बारेमा सूचित गर्दै आ–आफ्ना सामानहरू लिएर सुरक्षित स्थानमा जानलाई अग्रिम जानकारी दिन्छ ।

सन् २०१६ देखि एनसेल र विभागले निरन्तर सहकार्य गरी बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरूलाई पूर्व सूचना प्रवाह गर्दै आएको छ । २०२३ मा एनसेलले ९० लाखभन्दा बढी पूर्व सूचना प्रवाह गरेको थियो । जल तथा मौसम सम्बन्धित अन्य विपद्हरूमा पनि पूर्व सूचना प्रणाली लागू गर्नका लागि सम्भावनाहरू माथि अध्ययन भइरहेको विभागले जनाएको छ । पूर्वसूचना प्रणालीमार्फत जनधनको क्षति न्यूनीकरण गर्न विभागले नयाँ टेलिमेन्ट्री उपकरणहरू जडान तथा हाइड्रो मेटेरोलोजिकल स्टेसनहरू विस्तार गरेसँगै एनसेलले त्यस्ता स्टेसनहरूलाई आवश्यक कनेक्टिभिटी सुविधा प्रदान गर्दै जाने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया