Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिविको सीएसआईटी विभागबीच सम्झौता

डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिविको सीएसआईटी विभागबीच सम्झौता


काठमाडौं । सूचना प्रविधिको उद्योग र शैक्षिक संस्थानहरू बीचमा सहकार्य गर्ने उद्देश्यका साथ डिजिटल इम्पावरमेन्ट सोसाइटी र त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागबीच सहकार्य सुरु भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा बुधबार डिजिटल इम्पावरमेन्ट सोसाइटी (डीईएस) का अध्यक्ष राजेन्द्रप्रसाद अर्याल र त्रिभुवन विश्वविद्यालयको सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सविन सायमीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीअनुसार दुवै संस्थाहरूले शैक्षिक र कौशलबीचको असमानताका समस्या केन्द्रित रहेर सहकार्य गर्नेछन् । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले काम गर्दै पढ्दै भन्ने सरकारको नीतिअनुसार उत्पादन हुने सबै विद्यार्थीहरूलाई रोजगारी सुनिश्चित गर्न सकिने बताइन् । ‘आईटीको नयाँ विषयहरूलाई समावेश गर्दै सूचना प्रविधिको प्रयोग नहुने क्षेत्रमा गुणात्मक परिवर्तन हुन सक्दैन’, उनले भनिन्, ‘आईटी सेक्टरमा हामी छिमेकी देशसहित विश्वभर प्रतिस्पर्धा गर्न सक्छौँ । त्यो सम्भव छ भन्ने देखिएको छ ।’

सरकारी विद्यालय र विश्वविद्यालयहरूबाट आईटी पढेका विद्यार्थीहरूलाई कसरी रोजगारमा लगाउने कसरी बजारमा बिकाउने भन्ने चिन्तालाई समाधान गर्न यसले सहयोग गर्ने उनले बताइन् । यसैगरी, त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति डा शिवलाल भुसालले यो सहकार्यले बजारमा मार्केट र शैक्षिक संस्थाबीच सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताइन् । यसले आईटी पढेर पनि बजारमा उपयोग गर्न नपाइरहेको बेलामा विद्यार्थीहरूलाई सहयोग गर्ने उनको भनाइ छ । कार्यक्रममा डीईएसका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालले सूचना प्रविधि क्षेत्रमा शैक्षिक र औद्योगिक कार्यहरूका बीचमा देखिएको भिन्नतालाई हटाउन प्रयास गरिने बताए ।

यसैगरी त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभागका डिन डा विनील अर्यालले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने र देशभित्र खपत गर्न सकिने बारेमा समझदारी पहिलो पाइला भएको बताए । ‘अहिले नेपालमा आईटी क्षेत्रमा पनि जनशक्तिको अभाव देखिएको छ । एकातर्फ शैक्षिक जनशक्ति दक्ष नहुनु र अर्कोतर्फ उद्योगमा जनशक्ति अभाव हुनुले समस्या भएको हो । यसलाई न्यूनीकरण गर्न सबैले मिलेर जानुपर्छ’, उनले भने ।

कार्यक्रममा ग्लोबल डीईएसका प्रमुख समीर थापाले नेपालको आईटीलगायतका शैक्षिक सिलेबस अपडेट नहुनु र ढिलो अपडेट हुँदा विश्वस्तरको सिप र क्षमतामा पहुँच नभएको बताए । उनले यसलाई परिमार्जन गरेर विश्वबजार अनुकुल सिलेबस तयार पार्ने र त्यसलाई नियमित परिमार्जन गर्न सुझाव समेत दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया