Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य

डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच सहकार्य


काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि बिहीबार कम्पनी प्रमुखहरूले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थितिलगायत अन्य अत्यावश्यक जानकारीसहित ई–पालिका एपमा उपलब्ध हुनेछन् । निन्जा इन्फोसिसले निर्माण गरेको ई–पालिका एपमा गल्ली म्पाप्सले निर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो । यसका लागि निन्जा इन्फोसिसका कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत एवम् सह–संस्थापक राजविक्रम महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ई–पालिका एपमा गल्ली म्याप्स समावेश भएसँगै अब पालिकावासीहरूले उल्लेख्य भौतिक संरचना, कृषि क्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्था गरिएको छ ।

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीय क्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौँ, पालिकाभित्र कहाँ छ ? के छ ? कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालका जानकारी डिजिटल ई–पालिका एपबाट थाहा पाउन सकिन्छ,’ ई–पालिकाका क्षेत्रीले भने । नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सो एप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरी तयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनि यो एप सजिलै र निःशुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जा इन्फोसिसले जानकारी दिएको छ । त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले गुगल म्यापमा सहजै उपलब्ध नहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिक संरचनासमेत गल्ली–गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलो बनाउन सकियोस् भनेर गल्ली म्याप सुरु गरिएको बताए । दुई कम्पनीको उद्देश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकाले सहकार्य गरिएको उनको भनाइ छ ।

नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स र डिजिटल ई–पालिकाको साझेदारी उदाहरणीय भएको कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जीवी अधिकारीले बताए । स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङ सम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने उनले बताए । ‘नेपालमा स्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आईडिया सेयरिङ गर्न यस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘रिसोर्सहरूको दोहोरोपन रोक्न सेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थ र परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको बुझाइ छ ।’

नेपालमा २०७४ सालदेखि डिजिटल ई–पालिका मोबाइल एप्लिकेसन सुरू भएको थियो । सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यले निर्मित सो एपले सबै पालिकाहरूलाई पूर्णरूपमा डिजिटल सेवा प्रवाह गर्न सघाउनेछ । यस्तै, गल्ली म्याप नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पल म्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका सम्पूर्ण घर नम्बर यसमा म्यापिङ गरिएको छ । विशेषगरी अनलाइन डेलिभरी तथा राइड सेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया