Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट सञ्चालन हुने

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट सञ्चालन हुने


काठमाडौ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले पृथ्वी राजमार्गमा अवस्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गर्ने भएको छ । वैशाख २ गतेदेखि मोटरबोट सञ्चालनमा ल्याइने कम्पनीका सञ्चालक विष्णु ढकालले बताए ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालनका लागि आँबुखैरेनी गाउँपालिकाले गत पुस ९ गते बोलपत्र आह्वान गरेको थियो । गाउँपालिकाले बोटेबोराको प्रस्ताव छनोट गरी मोटरबोट सञ्चालनका लागि सम्झौता गरिसकेको छ । उक्त मोटरबोट सेवाको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गर्ने कार्यक्रम रहेका छ । सो जलाशयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्चालन गर्न लागिएको सञ्चालक ढकालले बताए । नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालन गरिने बताइएको छ ।

मोटरबोट सञ्चालनले मस्याङ्दीलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा विकास गर्न सकिने कम्पनीको विश्वास छ । जलाशय नजिक प्रसिद्ध धार्मिक स्थल अलकादेवी पनि रहेकाले धार्मिक पर्यटकहरूलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान बताउँछन् । साथै, पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने पर्यटकलाई समेत मोटरबोटमा आकर्षित गर्न सकिने उनको भनाइ छ । मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक–फरक शुल्क कायम गरिएको छ । कम्पनीले छदेखि आठ मिनेटसम्म मोटरबोटमा सयर गर्न दुई सय ५० रुपैयाँ प्रतिव्यक्ति, १० देखि १२ मिनेटसम्मका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ र १५ देखि २० मिनेटसम्म सयर गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लाग्ने जनाएको छ ।

यस्तै, कम्पनीले थप तीन करोड रुपैयाँ लगानी गरी जलाशय किनारमा ‘बीच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितको संरचनाहरू बनाउने जनाएको छ । यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरूलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया