Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘चीन र भारतको बीचमा नेपाललाई बृहत् लगानी तथा उत्पादन गर्न अवसर’

‘चीन र भारतको बीचमा नेपाललाई बृहत् लगानी तथा उत्पादन गर्न अवसर’


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेर नेपालसामु बृहत् लगानी तथा उत्पादन गर्ने अवसर रहेको बताएका छन् ।

लगानी सम्मेलनलाई सोमबार सम्बोधन गर्दै मन्त्री भण्डारीले आन्तरिक बजारका साथै ती मुलुकको बजार केन्द्रित रहेर नेपालको जनशक्ति, स्रोत साधन र प्रविधिको अधिकतम परिचालन गर्दै उत्पादन गर्ने अवसर रहेको बताएका हुन् । यसका लागि अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकास तथा परिचालनमा विशेष जोड दिनुपर्ने उनले बताए । यस्तै, उनले प्रविधिको विकासले उत्पादनको तरिका, उत्पादनको स्थान र आपूर्ति प्रणालीमा आमूल परिवर्तन हुँदै आएको बताए ।

यसैगरी मन्त्री भण्डारीले औद्योगिकीकरण, रोजगारी सिर्जना, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा नवप्रवर्तन र वृद्धि अपरिहार्य रहेको बताए । ‘खासगरी उत्पादन प्रक्रियामा नविनतम प्रविधिको अवलम्बन गर्दै उपभोक्ताको आवश्यकता, चाहना र मागअनुसार वस्तु विकास तथा उत्पादनमा सिर्जनशीलताको अपेक्षा गरिएको हुन्छ । चौथो र पाँचौँ पुस्ताको औद्योगिकीकरणको वर्तमान परिदृश्यमा उत्पादनमूलक क्षेत्रलाई चलायमान बनाउन नवप्रवर्तनको भूमिका अहम् रहेको हुन्छ,’ उनले भने ।

औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले विभिन्न नीतिगत कानुनी र प्रक्रियागत सुधार गरेको उनले बताए । ‘औद्योगिक व्यवसाय ऐनमा आयकर भन्सार महसुललगायतका कर छुटको व्यवस्था गरिएको छ । नेपाल सरकारले महिला तथा लघु उद्यमीहरूको लागि विशेष सहुलियत, औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, एकलविन्दु सेवा केन्द्र लगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ’, उनले भने, ‘राजस्व नीतिलाई उत्पादन एवम् लगानीकर्तामैत्री बनाउँदै लगिएको छ । नवप्रवर्तनको प्रवद्र्धन, बौद्धिक सम्पत्तिको विकास र संरक्षण गर्न बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन तर्जुमा कार्य भइरहेको छ ।’

विदेशी लगानीसम्बन्धी कानुनमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र पुँजी लगानी कोष स्थापना गर्न सक्ने प्रावधानले नवप्रवर्तनमा योगदान पु-याउने उनको विश्वास छ । अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्न नेपाल सरकारले चालू आर्थिक वर्षको बजेटमा पुँजीगत खर्चको एक प्रतिशत रकम अनुसन्धान तथा विकासमा विनियोजन गर्न सुरूवात गरेको उनले बताए । उनले भने, ‘संघमा बिजनेस इन्कुबेसन केन्द्र स्थापना भएको र प्रदेशस्तरमा समेत क्रमशः सो केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भएको छ ।’ त्यसैगरी, उत्पादनमूलक क्षेत्रमा नवीनतालाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न स्टार्टअप उद्यम नीति तथा कर्जासम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको उनले बताए ।

आगामी दिनमा अनुसन्धान तथा विकासमा सरकार तथा निजी क्षेत्रको लगानी अभिवृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन सहुलियत र प्रवद्र्धन सूचना तथा प्रविधि र यससँग सम्बन्धित जनशक्तिको विकास र महत्तम परिचालनमा केन्द्रित हुनुपर्ने महसुस गरेको उनले बताए । उनले भने, ‘ट्रिपल हेलिक्स मोडेलमा आधारित रहेर प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सरकारबीचको सहकार्यमा नयाँ औद्योगिक वस्तुको विकास तथा उत्पादकत्व अभिवृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया