Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको आम्दानी छ प्रतिशतले घट्यो

टेलिकमको आम्दानी छ प्रतिशतले घट्यो


काठमाडौं, साउन ३२
नेपाल टेलिकमको आम्दानी छ प्रतिशतभन्दा बढीले घटेको छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिकको तुलनामा गत आव २०७६/०७७ को चौथो त्रैमासिकमा टेलिकमको कुल सेवाबापतको आम्दानी छ दशमलव दुई प्रतिशतले घटेको हो ।

कम्पनीले आव २०७६/०७७ को वैशाख, जेठ असारसम्म ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार नौ सय ९५ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आव २०७५/०७६ को सोही अवधिमा ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २ सय २१ रुपैयाँ कुल सेवाबापतको आम्दानी गरेको थियो । कोरोना महामारीका कारण कुल सेवाबापतको आम्दानीमा कमी आएको कम्पनीको भनाइ छ । कोरोना महामारीको प्रत्यक्ष असरबाट सेवा प्रयोगमा आएको उच्च गिरावटका कारण अघिल्लो वर्षको तुलनामा गत आवको सोही अवधिसम्म कम्पनीको सेवाबाट प्राप्त हुने राजस्व दुई अर्ब २९ करोड २८ लाखले घटेको कम्पनीले जनाएको छ ।

कम्पनीका सेवामध्ये लिज्ड लाइन, फाइबर टु दि होम र जीएसएम डाटाबाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजस्वमा कमी आएको छ । तुलनात्मकरूपमा लिज्ड लाइन र फाइबर टु दि होम सेवा कम्पनीका अन्य सेवाभन्दा निकै कम रहेकोले उक्त सेवाबाट हुने राजस्वले अन्य सेवाबाट हुने राजस्वको कमीलाई परिपूर्ति गर्न नसक्ने कम्पनीले जनाएको छ । यस्तै कम्पनीले रिचार्ज कार्ड बिक्रीमा २०७५ चैतदेखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न सुरु गरेको छ । कुल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड बिक्रीअघि प्रदान गरिने हुँदा डिस्काउन्टका कारण सेवाबापतको आय घटेको कम्पनीको भनाइ छ ।

अघिल्लो आवको तुलनामा गत आवमा उक्त डिस्काउन्ट रकम ७९ करोड ३१ लाख ९१ हजारले वृद्धि भएको छ । गत आवको चौथो त्रैमासिकसम्मको तुलना गर्दा डिस्काउन्ट रकम जोड्नुपर्ने र यसरी जोड्दा राजस्वमा ३.९ प्रतिशतले कमी देखिएको पनि टेलिकमले जनाएको छ ।

फोरजी सेवा विस्तारका कारणले आव २०७६/७७ को तेस्रो त्रैमासिक अवधिदेखि राजस्व वृद्धि उन्मुख रहेकोमा कोरोनाको प्रत्यक्ष असरका कारण अन्तर्राष्ट्रिय रोमिङलगायत अन्य सेवामा आएको उच्च गिरावट, ओटीटीको बढ्दो प्रयोगलगायतका कारण जीएसएम तथा पीएसटीएन भ्वाइस सेवामा करिब दुई अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोडले कमी आएको तथा डाटा सेवातर्फ करिब ७५ करोड वृद्धि भएको कम्पनीले जनाएको छ । उक्त कारण अघिल्लो आवको तुलनामा गत आवको राजस्वमा करिब १५ प्रतिशत अर्थात् एक अर्ब ९५ करोड गिरावट आएको कम्पनीले बताएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि चैत ११ देखि घोषित लकडाउन गत आवको चौथो त्रैमासिकमा पनि निरन्तर रहेकाले व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको, सेवाको उपयोगमा आएको कमीले कम्पनीको राजस्वमा परेको नकारात्मक असरका अलावा महामारी र लकडाउनमा कम्पनीका ग्राहकलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने सोचका साथ कम्पनीले टप अपमा शतप्रतिशत बोनसबापत ५३ करोड ४० लाखभन्दा बढी, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई २२ करोड ८३ लाखभन्दा बढी तथा जिरो भ्यालु कलबापत पाँच करोड ३० लाखभन्दा बढीको निःशुल्क सेवा प्रदान गरिएकोमा राजस्वमा प्रत्यक्ष असर परेको पनि कम्पनीले जनाएको छ ।

यसैगरी कोरोनासँग सम्बन्धित रहेर सरकारका निकायको निर्देशन तथा नेपाल दूरसञ्चार प्राधिकरणको अनुरोधमा कम्पनीले निःशुल्क विभिन्न सेवासुविधा उपलब्ध गराएको, सरकारले स्थापना गरेको कोरोना राहत कोषमा कम्पनीले १० करोड योगदान गरेको पनि कम्पनी जानकारी गराएको छ । उल्लिखित प्रत्यक्ष असरका अतिरिक्त समीक्षा अवधिमा बाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, विद्युत् खर्चमा वृद्धि, कर्मचारीको तलब वृद्धि, कर्मचारीलाई उपलब्ध गराइएको ऋणलगायतका कारण व्ययभार बढ्न गई मुनाफामा असर कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x