Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगप्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला वीरगञ्जमा

प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला वीरगञ्जमा


वीरगञ्ज, माघ ५
वीरगञ्जमा एक महिना चल्ने प्रदेशस्तरीय जुत्ता चप्पल व्यापार मेला आयोजना हुने भएको छ । आगामी माघ ६ गतेदेखि फागुन ५ गतेसम्म चल्ने मेलामा नेपाल भारतका करिब दुई लाख ग्राहक तथा उपभोक्ताहरुलाई मेलाको भ्रमण अवलोकन गराई एक लाख जोडी जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य राखिएको मेला आयोजक समितिले जनाएको छ ।

नेपाल पत्रकार महासंघ पर्साका सभाहलमा आयोजित पत्रकार सम्मेनलमा आयोजकले मेलाबारे विस्तृत जानकारी गराएको हो । वीरगञ्ज घण्टाघरस्थित मधेशी सहिद पार्कमा लाग्ने मेलामा सातवटा विभिन्न कम्पनीको ४० भन्दा बढी स्टल राखिनेछ । मेलामा स्वदेशी सातवटा कम्पनीको विभिन्न ब्रान्ड जुत्ताचपल सस्तो सुलभ दाममा बिक्री गर्ने तयारी रहेको मेला समितिका रामकृष्ण प्रसाईंले जानकारी गराए । मेला अवधिभर हरेक जुत्ता चप्पलको जोडीमा १५ देखि ५० प्रतिशतसम्म छुट अफर रहेको उनले बताए ।

शिखर सुजका प्रबन्धनिर्देशक समेत रहेका प्रसाईँले मेलामा शिखर, रन, बीएफ डियर हिल, सुज ल्यान्ड, कोसेली, क्रस रोल, हिल लाइफ गरी कुल सात स्वदेशी कम्पनीको उत्पादन बिक्रीको लागि राखिने जानकारी दिए । स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न र भिजिट नेपाल सुरु भएको देशमा देशको विभिन्न कुनाकाप्चाको उपभोक्ताहरुलाई सस्तो दाममा फुटवेयर अर्थात् जुत्ताचप्पल बिक्री गरी स्वदेशी उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न मेलाको उद्देश्य रहेको मेला सञ्चालक समितिका रुद्र न्यौपानेले जानकारी गराए ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले प्रदेश नं २ मा पहिलोचोटि देशकै आर्थिक नगरी वीरगञ्जमा यस्तो मेलाले नेपाली ग्राहकसँगसँगै भारतीय उपभोक्ताको लागि पनि राम्रो अवसर भएको विचार व्यक्त गरे । उनले स्वदेशी उत्पादनहरुमा राम्रो र गुणस्तरीय जुत्ता चप्पलका उद्योगहरुले देशमा आत्मनिर्भर भई यस्तो किसिमको मेला आयोजना हुनु र सस्तो दाममा जुत्ता चप्पल खरिद गर्ने अवसर भएकोले यो सबै उपभोक्ताहरुको लागि खुसीको कुरा भएको बताए । उनले मेला अवधिभर पर्साका सञ्चारकर्मीहरुबाट आवश्यक पर्ने मिडिया सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया