Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविभिन्न स्वादमा तत्व फार्मसका ‘सक्खर’ बजारमा

विभिन्न स्वादमा तत्व फार्मसका ‘सक्खर’ बजारमा


काठमाडौं । केही दशक अगाडिसम्म परम्परागतरूपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल लोप हुन लागेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी)लाई तत्व फार्मसले विभिन्न ‘फ्लेवर’मा बजारमा उपलब्ध गराएको छ ।

सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको तराई भेगमा यसलाई गुँड शब्दले चिन्ने गरिन्छ । गुलियोका रूपमा र औषधीय गुणका हिसाबले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो । यो उखुको रस पकाएर बनाइन्छ । कम्पनीका उत्पादनमा ओरिजिनल ज्यागरी पाउडर, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टी ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिञ्जर ज्यागरी पाउडर छन् ।

परम्परागत उत्पादन ओरिजिनल ज्यागरी पाउडरलाई दूध वा तातो पानीसँग दुई÷तीन चम्चा दैनिक खान सकिन्छ । साथै, चिया, सिरियल, मिठाइ, हलुवा र खिरमा पनि प्रयोग गर्न सकिन्छ । चियाका पारखीले ‘मसला टि ज्यागरी पाउडर’ प्रयोग गर्न सक्छन् । तत्व फार्मस्का संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्वका विभिन्न फ्लेवरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाईलगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ ।

हाल तत्वका उत्पादन काठमाडौं उपत्यका, पूर्वका विभिन्न सहरका साथै पश्चिममा पोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगञ्जलगायतका सहरको भाटभटेनी, सेल्सवेरी, बिगमार्टलगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध छ । साथै, दराजमार्फत् अनलाइन अर्डर गरी नेपालभर घर तथा अफिसमै डेलिभरी मगाउन सकिन्छ । हाल सक्खर पाउडर तीन सय ग्राम र छ सय ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध रहेको छ । ओरिजिनल ज्यागरी पाउडरको तीन सय ग्रामको एक सय ७५ रुपैयाँ र छ सय ग्रामको तीन सय २५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ ।

आगामी दिनमा उत्पादन बढाइ मूल्य पनि कम गर्ने कम्पनीको योजना छ । नवलपरासीको प्रतापपुरमा उद्योग रहेको तत्वमा अहिले करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने चार सय उखु किसानका परिवार लाभान्वित छन् । बैंकबाट ऋणसमेत गरी २५ करोड रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरी उत्पादन सुरु गरेको त्रिपाठीले बताए । कम्पनीका उत्पादनमा प्रयोगकर्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै कुनै पनि केमिकलको प्रयोग नगरिएको उनले दाबी गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया