Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक

एनसेलद्वारा एसईई विद्यार्थीका लागि ‘पहिलो सिम’ योजना सार्वजनिक


काठमाडौँ ।एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसईईका विद्यार्थीले मात्र एक रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटालगायत विभिन्न फाइदा लिन सक्छन् ।

कम्पनीका अनुसार यो योजना मंगलबारदेखि सञ्चालनमा आएको छ । एसईई २०७८ को परीक्षा प्रवेशपत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्छन् । यो योजनाअन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र एक सय रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्जमा २० रुपैयाँ मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन एक सय ५० एमबी डेटा पाउँछन् । त्यसैगरी ५० रुपैयाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा छ महिनासम्म विभिन्न बोनस सुविधाहरूको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरूले तीन दिन मान्य हुने पाँच सय एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनसस्वरुप प्राप्त गर्छन् ।

विद्यार्थीहरूलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् । भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनसबाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधैँ सम्पर्कमा रहिरहनुपर्ने अधिकतम पाँचवटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । नम्बरहरू माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरूले पहिलो ३० दिनसम्म ती नम्बरहरूमा मात्र ५० पैसा प्रतिमिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि एक सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ ।

विद्यार्थीहरूले एस्ट्रिक्स१७१६४ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार आफू सधैँ सम्पर्कमा रहनुपर्ने पाँचवटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा पाँचवटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक पाँच रुपैयाँ शुल्क लाग्नेछ । एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । विभिन्न सेवाहरू बन्डल गरिएको यो पहिलो सिम योजनाले विद्यार्थीहरूलाई साथीभाइ, परिवारजनसँग सम्पर्कमा रहिरहन र मोबाइल इन्टरनेटको माध्यमबाट विश्वसँग जोडिन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया